कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
१६ चैत,सुर्खेत ।
झन्डै दुई महिनासम्म चलेको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको हो । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए ।

आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको सातौँ अधिवेशन अन्त्यको पत्र वाचन गरेर आइतबार राती १२ बजेदेखि अधिवेशन अन्त्यको घोषणा गरिन् । प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका १० वटा बैठक बसेका छन् भने जम्मा १३ घण्टा ४२ मिनेट समय व्यथित भएको छ । विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशन भने उपलब्धिमूलक नभएको प्रदेशसभा सदस्यहरूले बताए । हिउँदे अधिवेशनमा प्रदेशसभाले कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्न बनेको विधेयक २०८२ पारित गरिएको छ भने केही प्रदेश ऐन संशोधन विधेयक पारित गरिएको छ ।

यो अवधिमा कर्णाली प्रदेशसभामा कर्णालीका हिमाली जिल्लाहरूमा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव पारित गरिएको छ । त्यो बाहेकका बाँकी समय सरकार पक्ष र प्रतिपक्षबिचको आरोप प्रत्यारोपमै सकिएको छ । आइतबारको समापन बैठकमा पनि त्यही आरोप प्रत्यारोप दोहोरिएको छ । सत्ता पक्षका सांसदहरूले सरकारको बचाउ गरे भने प्रतिपक्षमा सांसदहरूले सरकारको आलोचना गरे । प्रदेशसभा बैठकमा सांसदहरूले कर्णालीको बजेट कार्यान्वयनको अवस्था कमजोर भएको भन्दै बजेट कार्यान्वयन बढाउने गरी योजना बनाउन उनीहरूले माग गरे । कर्णालीको विकास र समृद्धिका लागि सबै दलहरू सत्ता र प्रतिपक्षको बेन्चभन्दा माथि उठ्नु पर्ने विचार सांसदहरूले राखेका थिए ।प्रदेशसभा बैठकमा बालेन सरकारले केपी ओली र रमेश लेखकलाई गरेको पक्राउले मुलुक अस्थिरतातर्फ धकेलिएको जिकिर गरेका छन् ।




Post Comment