बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
९ जेठ, बेलायत ।
बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले चौथो अभ्यास खेलमा पनि जित निकालेको छ । नेपालले लगातार चौथो जित दर्ता गर्नेक्रममा बिहीबार राति ग्लोसेस्टरशायर क्लबलाई ५ विकेटले हरायो । यस टी–२० खेलमा ग्लोसेस्टरशायरले दिएको १ सय ६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनिङ ब्याटर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले ४२ बलमा १३ चौका र एक छक्कासहित अविजित ८४ रनको पारी खेले । आसिफले लामो समयपछि ठूलो पारी खेलेका हुन् । साथै जारी बेलायत टूरमा उनको यो पहिलो अर्धशतकीय इनिङसमेत हो ।
चौथो अभ्यास खेलमा ५२ रन बनाउँदा नेपालले महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । यो अवस्थाबाट शेख दाजु भाइले नेपाललाई अगाडि मात्र बढाएनन्, जित नै दिलाए । यस खेलमा आरिफले १९ बलमा ३० रन जोडे । यस्तै, अनिलकुमार साहले १८ र गुलशनकुमार झाले १७ रनको योगदान दिए । त्यसअघि पहिला ब्याटिङ गरेको ग्लोसेस्टरशायरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । नेपालका लागि सोमपाल कामीले चार ओभरमा ३८ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, नन्दन यादवले दुई तथा सन्दीप लामिछाने र ललितनारायण राजवंशीले एक/एक विकेट हात पारे । बिहीबार नै भएको पहिलो टी–२० अभ्यास खेलमा नेपालले ग्लोसेस्टरशायरलाई ७३ रनले हराएको थियो । एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपालले पहिलो खेलमा न्यू पोर्ट क्लबविरुद्ध तीन विकेट तथा एमसिसीविरुद्ध १२३ रनको जित निकालेको थियो ।
बेलायत टूरमा नेपालले अब २६ मेमा ग्लामोर्गन क्लबविरुद्ध एकदिवसीय अभ्यास म्याच खेल्नेछ । त्यसपछि नेपाली टिम स्कटल्याण्ड प्रस्थान गर्नेछ । त्यहाँ नेपालले मे २९ र ३१ मा स्कटल्याण्ड ‘ए’ टोलीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टिम आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा सहभागी हुनेछ, जहाँ नेपालको प्रतिस्पर्धी स्कटल्याण्ड र नेदरल्याण्ड्स हुने छन् । सिरिजको सुरुवात २ जुनदेखि हुनेछ । लिग–२ मा नेपाल अहिले कठिन अवस्थाबाट गुज्रिरहेको छ । १२ खेल खेलिसकेको नेपालले जम्मा ६ अंक जोडेको छ । र, नेपाल तालिकाको पुछारमा छ । अहिलेको अवस्थामा नेपाली टिमको स्कटल्याण्ड भ्रमणलाई पुनर्निर्माणको अवसरका रूपमा हेरिएको छ ।
Post Comment