१४ चैत्र २०८२, शनिबार

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै

 

थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले मंगलबार पुनः म्याद थपका लागि अदालत पेस गर्ने तयारी गरेको छ । चैत १५ गते नै पक्राउ परेका मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो । राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेको गरेको प्रदर्शनमा अराजकता र लुटपाट गराउन भूमिका खेलेको आरोपमा मिश्र र धवलशमशेर राणासहतिलाई पक्राउ गरेको थियो । राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान अघि बढाएको छ । मिश्रसहित उनीपछि पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामै छन् ।

मिश्रलाई प्रहरीले पहिलोपटक थुनामा राखेर अनुसन्धान गर्न चैत १६ गते पाँच दिनको अनुमति पाएको थियो । चैत २० गते सात दिनको म्याद पाएको प्रहरीले चैत २७ गते १५ दिनको म्याद लिएर थुनामा राखेको थियो । यस्तै, वैशाख १० गते तीन दिन र वैशाख १४ गते सात दिन र वैशाख २१ मा पाँच दिनको म्याद पाएको थियो । मंगलबार उक्त समय अवधि सकिएसँगै पुनः म्याद थपका लागि जिल्ला अदालत पेस गर्न लागिएको हो ।मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ । तीनकुने घटनामा अराजक प्रदर्शन गर्ने, लुटपाट गर्ने करिब ९० जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । त्यसमध्ये २४ जना प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । केहीलाई भने थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ ।

Post Comment

छुटाउनुभयो कि ?