दक्षिण कोरियाको डढेलोमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
१३ चैत, सोल ।
दक्षिण कोरियाको दक्षिण-पूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । ज्यान गुमाएकामध्ये धेरैजसो ६० देखि ८० वर्षका छन् । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोमा परेर कम्तीमा २६ जना घाइते भएका छन् । तीममध्ये १२ जनाको अवस्था गम्भीर छ । डढेलोका कारण कम्तीमा २३ हजार मानिसहरू घर छोड्न बाध्य भएका रहेको उल्लेख गरेको छ ।
कार्यवाहक राष्ट्रपति हान डक-सुले कोरियाले अभूतपूर्व संकटको सामना गरिरहेको जनाएका छन् । ‘यो हाम्रो राष्ट्रको इतिहासमा सबैभन्दा खराब डढेलो हो र संकट अझै पनि गम्भीर छ,’ टेलिभिजन सम्बोधनमा हानले भने । डढेलोले विगतका अन्य धेरै डढेलोको तुलनामा बढी क्षति पुर्याएको उनको भनाइ छ । क्षतिहरू बढ्दै छन्,’ हानले भने, ‘डढेलोले हामीले पहिले कहिल्यै अनुभव नगरेका क्षति पुर्याएको छ । त्यसैले यो साताको बाँकी समयमा हामी सबै डढेलो निभाउन केन्द्रित हुनुपर्छ ।’ रातभरको तीव्र हावाले डढेलो निभाउन कठिनाई भइरहेको हानको भनाइ छ ।
डढेलो नियन्त्रणका लागि कोरियामा तैनाथ अमेरिकी सेनाकासहित १ सय ३० हेलिकप्टर, हजारौं अग्निनियन्त्रक र करिब ५ हजार सैनिक खटाइएको छ । कार्यबाहक राष्ट्रपति हानले बिहीबार केही समान्य पानी पर्ने सम्भावना रहेकाले डढेलो नियन्त्रणमा केही सहज हुने अपेक्षा गरिएको बताए । कोरिया मौसम विज्ञान प्रशासनका अनुसार बिहीबार ५ देखि १० मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ । कार्यबाहक राष्ट्रपति हानले संकट नियन्त्रण भएपछि सरकारले सबै कमजोरीको पूर्ण समीक्षा गर्ने र भविष्यको लागि रोकथाम रणनीति सुधार गर्ने बताएका छन् । “एक पटक जंगली आगो सुरू भएपछि, यसलाई निभाउन ठूलो स्रोत चाहिन्छ र बहुमूल्य जीवनहरूलाई खतरामा पार्छ,’ उनले भने ।
डढेलोले उइसोङ सहरको १३ सय वर्ष पुरानो गाउन्सा मन्दिरसमेत जलेको छ । तर मन्दिर परिसरमा रहेका अधिकांश सांस्कृतिक महत्वका वस्तुहरू भने सुरक्षित स्थानमा सारिएको छ । कोरियाली सञ्चार माध्यहरूका अनुसार सान्चेओङ काउन्टीमा शुक्रबार दिउँसो सुरू भएको डढेलो पछि उइसोङ काउन्टीमा फैलिएको हो । तीव्र र सुख्खा हावाका कारण डढेलो आन्डोङ, चेङ्गसोङ्ग, योङयाङ्ग र यओङ्गदेओक लगायतका छिमेकी काउन्टीतिर बढिरहेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
Post Comment