जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
६ चैत, सर्लाही ।
जनज्योति बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका समिर सिंह सभापतिमा निर्वाचित भएका छन्। नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार रहेका सिंहले नेपाली कांग्रेस निकट नेविसङ्घका निर्मल अधिकारी (सफल) लाई ८५ मतको अन्तरले पराजित गरे। सिंहले ४१० मत प्राप्त गर्दा अधिकारीले ३२५ मत मात्रै ल्याए।
सचिव पदमा अनेरास्ववियुकी रोशना पोखरेल ४०० मत प्राप्त गरी विजयी भइन्। उनका प्रतिस्पर्धी नेविसङ्घका अरविन्द साहले ३२३ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा अनेरास्ववियुकी निकि कुमारी ३७३ मतसहित निर्वाचित भइन्, भने उनका प्रतिस्पर्धी रितिका चौधरीले ३४४ मत प्राप्त गरिन्। सदस्य पदमा संयुक्त प्यानलबाट शान्तिकुमारी मण्डलले ३६५, राहुलकुमार गुप्ताले ३८८, असराना बेगमले ३७९, सुनिलकुमार साहले ३८२, सुमन घिमिरेले ४०१, नवीनकुमार महतोले ३८२ र रुपेशकुमार साहले ३५६ मत प्राप्त गरी विजयी भए।
नेविसङ्घतर्फबाट भने सदस्य पदमा प्रकृति कुमारीले मात्र जित हासिल गरिन्। उनले ३६२ मत प्राप्त गरिन्। बाँकी सम्पूर्ण पदाधिकारी तथा सदस्य पदमा संयुक्त प्यानलका उम्मेदवारहरू विजयी भए। समानुपातिकतर्फ अनेरास्ववियुले ३६०, नेविसङ्घले ३३१ र अनेरास्ववियूले ९ मत प्राप्त गरेका छन्। दुई मत बदर भएको थियो।
क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १,०८४ विद्यार्थीमध्ये ७४७ जनाले मतदान गरेका थिए। निर्वाचन अधिकृत शिवहरि नेपालका अनुसार मतदान प्रक्रिया मङ्गलबार सम्पन्न भएको हो।
Post Comment