अवैध अस्पताल सञ्चालन गर्दै आएका सञ्चालक पक्राउ
१९ फागुन, रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।
अस्पताललाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो । उक्त पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेका कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । पत्रको अवज्ञा गरेर अस्पताल सञ्चालन गरेको कारण उनलाई पक्राउ गरेको डीएसपी राईले बताए ।मुख्यमन्त्री सिंहले गत शनिबार चन्द्रनिगापुरको ११ वटा निजी अस्पतालको अनुगमन गरेका थिए । जसमा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो ।

Post Comment