हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
१७ फागुन सर्लाही ।
सर्लाही जिल्लाको हरिवन नगरपालिकामा रहेको मानव सेवा आश्रम को भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना गरिने भएको छ। महायज्ञ आगामी फागुन २२ गतेदेखि २९ गतेसम्म हरिवन–११, सुर्ती विकास खेलमैदानमा सञ्चालन हुनेछ। आयोजक समितिले महायज्ञको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका पदाधिकारीहरूले महायज्ञबाट संकलित रकम मानव सेवा आश्रमको भवन निर्माणमा खर्च गरिने बताएका छन्। महायज्ञमा विभिन्न धर्मगुरु, समाजसेवी, राजनीतिक व्यक्तित्व तथा स्थानीय जनसमुदाय को सहभागिता रहनेछ।
महायज्ञको उद्देश्य
महायज्ञबाट संकलित सहयोग रकम हरिवन–९ मा निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माण मा खर्च गरिनेछ। करिब ११ करोड रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण सम्पन्न भएपछि १५० जना सहयोगापेक्षी सडकआश्रित मानवहरूलाई सेवा प्रदान गर्न सकिने आश्रमले जनाएको छ।
मेयरको अपिल
हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी ले पत्रकार सम्मेलनमा बोल्दै मानव सेवा आश्रमको भवन निर्माणमा सबै पालिका र वडाहरूले आर्थिक योगदान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले हरिवन नगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नगरपालिका घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिँदै सर्लाही जिल्लालाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त जिल्ला बनाउने लक्ष्य रहेको बताउनुभयो।
नगरपालिकाका उपमेयर हरिमाया घलान ले मानव सेवा आश्रमको महान कार्यमा नगरपालिका सदैव साथमा रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघ, सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर ले महायज्ञको प्रचारप्रसारमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
महायज्ञका विशेष कार्यक्रमहरू
महायज्ञ अन्तर्गत विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिने छन्।
मुख्य कार्यक्रमहरू यस प्रकार रहेका छन्:
फागुन २२ गते – शुभारम्भ शोभा कलश यात्रा (सुखेपोखरी शिव मन्दिरबाट)
फागुन २२ गते – उद्घाटन समारोह (१२:३० बजे)
फागुन २८ गते – लक्ष्यवत्ति दीप प्रज्वलन
फागुन २९ गते – समापन समारोह (४:००–५:०० बजे)
नित्य कार्यक्रमहरू:
बिहान ५:००–७:०० बजे – योग शिविर
बिहान ७:३०–१०:०० बजे – विद्यार्थी माझ उत्प्रेरणात्मक कार्यक्रम
बिहान ७:०० बजे – पूजा तथा पाठ पारायण
बिहान ११:००–४:०० बजे – भागवत कथा वाचन
साँझ ४:१५ बजे – आरती
साँझ ४:३० बजे – प्रसाद ग्रहण
राति ७:००–९:०० बजे – संध्याकालीन भजन
मानव सेवा आश्रमको योगदान
वि.सं. २०६९ साल भाद्र १३ गते मकवानपुर, हेटौँडाबाट सेवा सुरु गरेको मानव सेवा आश्रमले हालसम्म मधेश प्रदेशभरि ७१५ जना सडकआश्रित मानवहरूको उद्धार गरिसकेको छ। यसमध्ये ४०१ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ भने हाल १६१ जना आश्रममा आश्रय लिइरहेका छन्। हरिवन शाखाले मात्रै २९९ जना सडकआश्रितको उद्धार र २२९ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ।
“जसको कोही छैन, तिनको सेवा नै परम धर्म” भन्ने ध्येयका साथ मानव सेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ। यस महान कार्यमा सबैको सहयोग आवश्यक रहेको भन्दै महायज्ञ आयोजक समितिले सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
Post Comment