नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
१८ माघ, काठमाडौं । फ्रेन्चाइजको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली एनकेएलको पहिलो च्याम्पियन बन्ने होडमा छन् ।
एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक छन् । शुक्रबारको फाइनलपछि एनकेएलले विजेता पाउनेछ तर त्यसका लागि फाइनलको प्रतिक्षा गर्नुपर्नेछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६:३० बजे सुरु हुनेछ । त्यसअघि गायिका डाक्टर त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिनेछिन् । अब कुरा गरौं दुई फाइनलिस्ट टिमको । नेपाली राष्ट्रिय महिला टिमकी मुख्य प्रशिक्षक पार्वती राईले हाँकिरहेको जनकपुर नाइट्स पूरा प्रतियोगिताकै एक मात्र अपराजित टिम हो र उत्कृष्ट लयमा रहेको छ । लिग चरणमा जनकपुरले ४ खेल जित्दा १ बराबरी खेलेको थियो ।
त्यो बराबरी पनि काठमाडौंसँग नै थियो । त्यसैले पनि फाइनल अझ रोमाञ्चक हुने अपेक्षा छ । लिग चरणमा शीर्षस्थानमा रहेको जनकपुरले क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंले पनि क्वालिफायर २ मा विराटनगरलाई नै हरायो । यस मानेमा विराटनगर लिग चरणमा दोस्रो स्थानमा रहेर पनि लगातार दुई क्वालिफायर हार्दा अभागी रह्यो । लिग चरणमा तेस्रो भएपनि एलिमनेटर र क्वालिफायर जित्दै फाइनल पुगेको काठमाडौं पनि उपाधि होडमा बलियो बनेर आएको छ । यो टिमले लिगमा तीन जित, एक बराबरी र एक हारको नतिजा निकालेको थियो । लिगमा पराजित भएको विराटनगरसँग काठमाडौंले क्वालिफायरमा बदला लिइसकेको छ ।
अर्कोतर्फ काठमाडौंको मार्की तथा कप्तानमा नेपाली पुरुष राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगर छन् । उनकै सानदार प्रदर्शनले काठमाडौंले फाइनलसम्म यात्रा तय गरेको छ । भारतको प्रो कबड्डी लिग च्याम्पियन कप्तान घनश्याम रोका मगरको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौं अब त्यही लय जनकपुरविरूद्ध पनि कायम राख्दै आकर्षक ट्रफीलाई राजधानीमै सजाउन चाहन्छ । जनकपुर घनश्यामलाई रोक्ने रणनीतिमा हुनेछ । अर्कोतिर, जनकपुरका लागि सानदार प्रदर्शन गरिरहेका थाइल्यान्डका चाहपोन कामुनीको आक्रमणलाई रोक्न काठमाडौंको रणनिति हुनेछ । यी दुई टिमबीच लिग चरणमा भएको रोमाञ्चक खेल ३९-३९ को बराबरीमा सकिएको थियो । यो एनकेएलको एकमात्र बराबरी हो र जनकपुरले जित्न नसकेको खेल पनि यही एउटा हो । त्यसैले काठमाडौंलाई पनि हराएर जनकपुर आफ्नो प्रभुत्व देखाउने लक्ष्यमा छ ।
जनकपुरको लक्ष्य पनि प्रस्टै छ, जनकपुर बोल्ट्सले गत महिना नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जितेर मनाएको उत्सवलाई कबड्डीमा रूपान्तरण गर्ने । बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनकपुरका प्रशिक्षक पार्वती राईले भनिन्, ‘हाम्रो टिमले अहिलेसम्म राम्रो खेलिरहेका छौं। अब बाँकी एक खेल पनि राम्रो खेल्दै च्याम्पियन ट्रफी उचाल्न चाहन्छौं।’ उनी एनकेएलका ६ टिमका प्रशिक्षकमध्ये एक्ली महिला हुन् । राष्ट्रिय खेलकुद परिषदअन्तर्गत् कबड्डीका मुख्य प्रशिक्षक रहेकी पार्वती राईकै नेतृत्वमा नेपाली महिला टिमले १९ औं एसियाली खेलकुद २०२२ मा ऐतिहासिक कांस्यपदक जितेको थियो । जनकपुरका कप्तान रामु टमटाले पनि आफ्नो टिम राम्रो लयमा भएकोले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने कोसिस गर्ने बताए । काठमान्डुका कप्तान घनश्याम रोका मगरले भने, ‘जनकपुर निक्कै राम्रो टिम हो। तर, हामी राम्रो खेल्दै एनकेएल च्याम्पियन बन्न चाहन्छौं ।’हरियाणा स्टिलर्सबाट पिकेएल च्याम्पियन भएका उनी राष्ट्रिय टिमका समेत कप्तान हुन् । काठमान्डुका प्रशिक्षक सरोजकुमार सिंहले पनि मिहिनेत गर्दै आफ्नो टिम उपाधि जित्न तयार रहेको बताए।
Post Comment