सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
७ माघ, मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरू भएको छ । आजको बैठकले संसद् अधिवेशन यही माघ १८ गते बोलाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।प्रधानमन्त्री निकट स्रोतले आजको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन माघ १७/१८ गते बस्ने गरी सिफारिस गर्ने जानकारी दियो ।
‘संसद् अधिवेशन आव्हानको तयारीमा सरकार यस अघिदेखि नै जुटेको थियो । यसैले आजै बस्ने मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशनको आव्हानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘माघ तेस्रो साता १७/१८ गतेतिर अधिवेशन आव्हान गर्ने तयारी छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले नै केही दिन अगाडि संसद् अधिवेशन आव्हान छिट्टै हुने बताएका थिए । संसद् र विभिन्न समितिमा रहेका १९ बढी विधेयकलाई सरकारले अब बस्ने अधिवेशनबाट अगाडि बढाउने तयारी गरेको छ ।
यसको लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल नै बनाएर छलफल गरेका छन् । अब बस्ने संसद् अधिवेशनबाट विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा गठन, भन्सार विधेयक, बैंकिङ कसुर सजाय विधेयक, राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन), धितोपत्रसम्बन्धी (पहिलो विधेयक), आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), विद्युत विधेयक, संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको सहितका विधेयक छन् ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले आह्वान हुन लागेको संसद् अधिवेशनबाट केही विधेयकहरू पास गर्ने गरी अगाडि बढ्ने तयारी भएको बताए । माघको १५ देखि २० गतेको बीचमा संसद् अधिवेशन आह्वान हुने तयारी छ । हाउसलाई प्रभावकारी बनाउन सरकारले बिजनेस दिनेछ,’ बर्तौलाले भने, ‘यसपटक दलहरूले विद्यालय शिक्षा, संघीय निजामती सेवा गठनसहितका विधेयकलाई टुंगोमा पुर्याउँछ ।’
Post Comment