सातै प्रदेशमा पुग्यो एचपीभी खोप
३ माघ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खाप सातवटै प्रदेशमा पठाएको छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए ।
निर्देशक डा. रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप निःशुल्क उपलब्ध गराएको हो । संघीय सरकारले २२ माघदेखि ६ फागुनसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई खोप लगाइने जनाएको छ । कुन प्रदेशमा कति खोप ? महाशाखाका निर्देशक डा. रायमाझीले कोशी प्रदेशमा २ लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा ३ लाख ८० हजार ४ सय ६०, बागमती हेटौँडाका लागि १ लाख २५ हजार ८ सय, बागमती भक्तपुरका लागि २ लाख १८ हजार २ सय ८० मात्रा पठाइसकिएको जानकारी दिए ।
यसैगरी, गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा, कर्णालीमा एक लाख २४ हजार चार सय मात्रा र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० मात्रा खोप पठाइएको छ । प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आ-आफ्नो जिल्लामा पठाउने उनले बताए । उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा. रायमाझीले जानकारी दिए । उनका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको संक्रमण रहेकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने डा. रायमाझीले बताए । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।
Post Comment