पर्सामा पक्राउ परेका गौरव र समर्पणलाई झापा पठाइयो
२८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेका दुई युवालाई करिब एक महिनापछि झापा प्रहरीको जिम्मा लगाइएको छ ।गोरखाको पालुङटार नगरपालिका–७ घर भएका ३६ वर्षीय गौरव भनिने अमृत सापकोटा र खोटाङको खोटेहाङ गाउँपालिका–७ का ३५ वर्षीय दिलिप भनिने समर्पण भट्टराईलाई जिल्ला प्रहरी कार्यालय झापाको जिम्मा लगाइएको हो ।
उनीमाथि भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर चन्दा उठाएको आरोप छ । गौरवले आफूलाई नेकपा (माओवादी) को महासचिव बताउने गर्छन् । समर्पण सोही पार्टीका सचिव हुन् । पर्सा प्रहरीले उनीहरूबाट चन्दा उठाउने रसिद र केही चन्दा उठाएको विवरण समेत बरामद गरेको थियो । पर्सा प्रहरीका एक अधिकृतका अनुसार उनीहरू सुरुमै माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए । उनीहरूबाट केही राजनीतिक दस्तावेजहरू समेत बरामद भएको र भूमिगत रूपमा सशस्त्र संघर्ष गर्ने तयारीसम्म रहेको पर्सा प्रहरीका एक अधिकृतले बताए ।
Post Comment