पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
२५ मंसिर, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । मंगलबार एकैदिनमा उनको बयान सकिएको हो । बयानका लागि उनलाई सोमबार पोखराबाट काठमाडौं हुँदै पर्सा लगिएको थियो ।
लामिछानेको बयान सकिएकाले भोलि पोखरा फिर्ता पठाइने पर्सा प्रहरी प्रवक्ता, डीएसपी किशोर लम्सालले बताए ।पर्साको वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा रविसँग बयान लिइएको हो । उक्त सहकारीबाट रवि गोर्खा मिडिया नेटवर्कको प्रबन्धन निर्देशक एवं शेयर सदस्य हुँदा बचत रकम ल्याएर अपचलन गरेको आरोप छ । यही प्रकरणमा जोडिएका प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग पर्सामा रविको भन्दा अघि बयान भइसकेको छ ।
सहकारीको रकम आउँदा छवि पनि गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए । प्रहरीले यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरा, स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं र सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको अनियमिततामा लामिछानेको बयान दिइसकेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर सोही दिन पोखरा लगिएका थिए ।
Post Comment