१० श्रावण २०८२, शुक्रबार

सर्लाहीको हरिपुरमा भरुवा बन्दुकसहित हरिणको मासु बरामद

 

८ कार्तिक, सर्लाही। वनकर्मीको टोलीले सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर नाखा टोलबाट बिहीबार भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा डिभिजन वन कार्यालय सर्लाहीबाट खटिएको वनकर्मीको टोलीले बिहीबार बिहान–९ बजेतिर स्थानीय जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र छिमेकी हरिनारायण महराको घरबाट हरिणको मासु बरामद गरेको हो । वनका अध्यक्ष विकको घरबाट दुई केजी र हरिनारायणको घरबाट–१३ केजी हरिणको मासु बरामद भएको सर्लाहीका डिभिजन वन अधिकृत सन्तोषकुमार झाले जानकारी दिनुभयो ।

घरबाट हरिणको मासु बरामद भए पनि वनका अध्यक्ष विक र उहाँका छिमेकी महरा भने फरार छन् । उनीहरूको खोजी भइरहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । वनकर्मीले खानतलासीको क्रममा हरिनारायण महराको बारीमा लुकाइराखिएको एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने एक थान नाल र एक थान खुकुरी बरामद गरेका छन् ।

भरुवा बन्दुकमा टाढासम्म उज्यालो फाल्ने ‘टर्च लाइट’ फिट गरिएकाले उक्त हतियार पेसेवर सिकारीले वनजन्तुको सिकार गर्न प्रयोग गर्दैआएको हुनसक्ने आशङ्का गरिएको छ । बरामद हतियार लालबन्दीस्थित डिभिजन वन कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत झाले बताउनुभयो । बरामद भएको हरिणको मासु जनप्रतिनिधि, सञ्चारकर्मी, वन कर्मचारी लगायतको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?