१९ चैत,काठमाडौं ।

आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा हनुमान प्रति विशेष पूजाआराधना गर्ने परम्परा रहेको छ ।आजको दिन हनुमानको पुजाआराधना गरेमा बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख सङ्कटबाट मुक्ति मिल्ने विश्वास छ । यस अवसरमा राजधानीसहित देशभरका हनुमान मन्दिरहरूमा भक्तजनको भीड लाग्छ ।

विशेषगरी हनुमानढोका दरबार परिसरमा रहेको हनुमान मूर्ति, पशुपतिनाथ मन्दिर क्षेत्रभित्रको हनुमान मन्दिर तथा गोकर्णेश्वर नगरपालिकास्थित पञ्चमुखी हनुमानमा विशेष पूजाआराधना गरिन्छ ।हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्पराअनुसार पुजारीले मात्र पूजा गर्ने चलन छ ।यस अवसरमा आज बिहानैदेखि श्रद्धालुहरूले पवित्र नदीहरूमा स्नान गरी व्रत बस्ने, पूजा गर्दछन् । पर्वले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव र एकताको सन्देशसमेत फैलाउने विश्वास गरिन्छ ।