१७ चैत्र २०८२, मंगलवार

विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज

१७ चैत, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क नबढेको स्पष्ट पारेको छ । विभागले एक सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि प्रति प्रशिक्षार्थी शुल्क ७ सय रूपैयाँ नै रहेको प्रष्ट पारेको हो ।

पछिल्लो समय अभिमुखीकरण प्रदायक संस्थाहरूले २ हजार १ सय रूपैयाँ लिने गरेका छन् । ७ सय भन्दा बढी शुल्क नबढेको प्रष्ट पार्दै विभागले त्यो भन्दा बढी लिएको भए उजुरी गर्न अनुरोध गरेको छ । अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र सो अवधिभरको कुल शुल्क ७०० रुपैयाँ नै हुने विभागले प्रष्ट पारेको छ । २०८१ असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उक्त शुल्क नै कायम रहेको प्रष्ट पार्दै त्योभन्दा बढी शुल्क लिने व्यवसायीको अनुमति (इजाजत पत्र) स्वतः रद्द गरिने चेतावनी दिइएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ तथा कार्यविधिअनुसार नै तालिमका सबै मापदण्ड लागु हुने विभागले जनाएको छ । केही तालिम प्रदायक संस्थाले निर्धारित शुल्कभन्दा बढी रकम लिएको गुनासो आएको भन्दै विभागले त्यस्तो नगर्न सचेत गराएको छ । कुनै संस्थाले ७०० रुपैयाँभन्दा बढी शुल्क लिएको प्रमाण भेटिएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली बमोजिम त्यस्ता संस्थाको इजाजत पत्र स्वतः खारेज गरिने विभागले चेतावनी दिएको छ । विभागले सबै मान्यता प्राप्त तालिम प्रदायक संस्थालाई तोकिएको शुल्क मात्र लिन र कार्यविधि पूर्ण रूपमा पालना गर्न भनेको छ ।

Post Comment

छुटाउनुभयो कि ?