सर्लाहीमा सेना–प्रहरीको संयुक्त गस्ती
फागुन ५, सर्लाही। अमलेश शर्मा
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले सोमबारदेखि जिल्लाभर संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । यसअघि माघ २१ गतेदेखि नेपाली सेनाले चारै निर्वाचन क्षेत्रमा एक–एक टोली परिचालन गर्दै आएका थिए । सोमबारदेखि भने तीनवटै सुरक्षा निकायले समन्वयात्मक रूपमा नियमित संयुक्त गस्ती थालेका हुन् ।

कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्काका अनुसार जिल्लाका २० वटै स्थानीय तहमा सुरक्षा बेस क्याम्प स्थापना गरिएको छ । निर्वाचन सामग्री ढुवानी, मतदान केन्द्रको सुरक्षा, संवेदनशील क्षेत्रको निगरानी तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणमा केन्द्रित भएर गस्ती परिचालन गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा घेरा बलियो बनाइएको हो । सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेको र आवश्यक परे थप जनशक्ति परिचालन गरिने जनाइएको छ ।




Post Comment