कार्यभार सम्हाल्दै शाक्यले भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु
२४ मंसिर, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग मिलेर काम गर्ने बताएका छन् ।सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनर्स्थापित भएपछि बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै उनले भने, ‘मेरो कार्यकाल अब साढे ती वर्ष बाँकी छ । यस अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्नेछु । आगामी दिनमा सरकारसँग मिलेर नै काम गर्नेछु ।’

उर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई कुनै प्रक्रिया नै नपुर्याई हटाउन गरेको निर्णय अदालतले उल्ट्याइदिएपछि प्राधिकरण पुगेका शाक्यले सरकारसँग मिलेरै काम गर्ने अभिव्यक्ति दिएका हुन् । आफ्नो कार्यकालमा जनतालाई दिगो र भरपर्दो विद्युत् उपलब्ध गराउने विषयलाई प्राथमिकता दिने उनले बताए । ‘विगत लामो समय प्राधिकरण आफैले विद्युत् उत्पादन नगर्ने तर कम्पनीहरूमार्फत मात्रै उत्पादन गरियो । अबका दिनमा प्राधिकरण आफैले पनि विद्युत् उत्पादन बढाउँछ,’ उनले भने । प्राधिकरणको कार्यकारी निर्देशक भएकै कारण आफू आक्रमणमा परे पनि त्यसबाट नआत्तिएको उनले बताए । प्राधिकरणमा तीन दशकभन्दा लामो समय आफूले निश्वार्थ सेवा गरेको सम्झँदै उनले भने, ‘म आत्तिएको छैन । प्राधिकरण र देशको सेवामा लागिरहनेछु ।’





Post Comment