मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
२० असोज, पेरिस ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् । उनले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिएका थिए । उनको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुनः नयाँ राजनीतिक गतिरोधमा पुर्याएको छ । राष्ट्रपति म्याक्रोनले गत महिना पूर्व रक्षामन्त्री लेकोर्नुलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । तर आइतबार साँझ सार्वजनिक गरिएको नयाँ मन्त्रिपरिषद्ले राजनीतिक वृत्तमा तीव्र आलोचना निम्त्याएको थियो ।

नयाँ मन्त्रिपरिषद्मा पनि अधिकांशतः पुरानै रहेपछि आलोचना भएको हो । लेकोर्नुमाथि आगामी वर्षका लागि मितव्ययिता बजेट संसद्बाट स्वीकृत गराउने कठिन जिम्मेवारी थियो । संसद्मा सांसदहरू स्पष्ट रूपमा विभाजित छन् । उनका दुई तत्काल पूर्ववर्तीहरू, फ्रान्स्वा बायरो र मिशेल बार्नियर खर्च योजनाको गतिरोधकै कारण विधायिकाबाट हटाइएका थिए । फ्रान्सको सार्वजनिक ऋण अहिले ऐतिहासिक उच्चतम स्तरमा पुगेको गत हप्ताको आधिकारिक तथ्याङ्कले देखाएको छ । देशको ऋण– कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपात अहिले युरोपेली सङ्घमा ग्रीस र इटालीपछि तेस्रो उच्च रहेको छ । यो युरोपेली सङ्घ (इयु) नियमले अनुमति दिएको ६० प्रतिशतको झण्डै दोब्बर नजिक छ ।





Post Comment