पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक
असोज, काठमाडौं ।
चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिएलगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो । पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो ।

बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो । यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् । सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ । काठमाडाैं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहाेरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए । तर, अब पुन: पहिरो नखसे आवागमन सहज हुनेछ । तुइन खोला नजिक यसअघि पनि पटकपटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।




Post Comment