वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा
५ असोज, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु गरेको छ । जेन–जी आन्दोलनकारीले भदौ २४ गते वीरेन्द्रनगर नगरपालिकासहित १२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भए पछि नगरपालिकासहित वडा कार्यालयको सेवा ठप्प भएको थियो । सेवा प्रभावित भएको १२ दिन पछि आइतबारदेखि नगरपालिका कार्यालयबाटै सबै वडाको सेवा प्रवाह थालिएको नगर प्रमूख मोहनमाया ढकालले बताईन् । आगजनी र तोडफोड गरिएका वडा कार्यालयको पुर्ननिर्माण, मर्मत र पूर्वाधारहरुको तयारीका लागि समय लाग्ने भएकाले नगरबासीको सेवामा अवरोध हुन नदिन नगरपालिकाबाटै सेवा प्रवाह गर्न थालिएको नगरप्रमूख ढकाललेको भनाई छ ।

‘वडा कार्यालयहरु बनाउन समय लाग्ने र सबै कागजातहरु पनि जलेर नष्ट भएकाले नगरपालिकाबाटै सेवा सुरु गरिएको छ’ उनले भनिन्, ‘हाललाई नगरपालिकाका केही कोठा र नगरपालिकासंगै जोडिएको जिल्ला समन्वय समितिका केही कोठा भाडामा लिएर नागरिकलाई सेवा दिईने छ ।’ जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा नगरपालिका र वडा कार्यालयका जिन्सी तथा सवारीसाधनमा क्षति पुगेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ देखि १२ का सबै वडा कार्यालय जलेर ध्वस्त भएपछि सेवा प्रवाह रोकिएको थियो । वडा कार्यालयबाट हुने जन्म–मृत्युदर्ता, नागरिकता सिफारिस, कर संकलन जस्ता दैनिक कामहरुसमेत प्रभावित भएका थिए । नगरपालिकाको झण्डै ३ करोडको क्षति भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका कार्यालयमा २ करोड ७५ लाख बराबरको क्षती भएको छ ।

वीरेन्द्रनगरका १२ वटा वडा कार्यालयको क्षती मुल्याङ्कन भई रहेको छ । यसले वीरेन्द्रनगरको क्षती धेरै बढ्ने अनुमान गरिएको छ । आन्दोलनमा उत्रिएका युवाहरूले नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । नगरपालिकाको भवन तथा कोठा, फर्निचर तथा फिक्चर्सका सामाग्री, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक, सवारी साधन तथा अन्य विद्युतीय उपकरण र सामाग्रीहरु गरी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको दुई करोड ७५ लाखको क्षती भएको प्रारम्भिक अनुमान गरिएको नगरपालिकाका जिन्सी शाखा प्रमूख खड्क बहादुर केसीले जानकारी दिए ।‘नगरपालिका मातहतको सिटी हलको क्षतीको विवरण पनि यसमा समावेश छ’ केसीले भने, ‘आन्दोलनका क्रममा नगरपालिकाका १२ वटा वडा जलाइएका छन्, वडाको क्षती मुल्याङ्कन भई रहेको छ ।’




Post Comment