सामान्य बन्दै चितवनको जनजीवन: कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी
२६ भदौ,चितवन ।
आज बिहानदेखि लागु हुनेगरी चितवनमा कर्फ्यू हटाइएको छ । जेन–जीको आन्दोलनपछि भएको असामान्य अवस्था बिस्तारै सामान्यतर्फ फर्काउन जिल्ला सुरक्षा समितिले कर्फ्यू हटाएर निषेधाज्ञा मात्रै लगाएको हो । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जनजीवन सामान्य बनाउन कर्फ्यू हटाएर निषेधाज्ञा मात्रै लगाइएको जानकारी दिए । उनका अनुसार विध्वंसात्मक आन्दोलनका कारण सुरक्षाकर्मी सदरमुकाम केन्द्रित हुँदा खाली भएका सुरक्षा पोष्टहरुमा आज बिहानदेखि प्रहरी फर्किएका छन् । चितवनमा प्रहरीको ७७ वटा सुरक्षा पोष्ट रहेका छन् ।

जिल्लाका नागरिक बढी सम्पर्क हुने सरकारी कार्यालयहरू जलाइएका छन् । तिनीहरूको अभिलेख लिएर सम्भव हुने सरकारी कार्यालयबाट काम सुचारु गर्न पनि सुरक्षा समितिले व्यवस्थापनका काम थालेको एसपी पूरीले जानकारी दिए । ‘आज बिहानदेखि कर्फ्यू हटाएर निषेधाज्ञा मात्रै लगाइएको छ’, उनले भने, ‘अब हामी जिल्लाको जनजीवन सामान्य बनाउनेतर्फ लागिरहेका छौँ ।’ आज दिउँसोदेखि सदरमुकाममा रहेका बैँक तथा वित्तीय संस्थाहरूलाई पनि सेवा सञ्चालन गर्न सुरक्षा समितिले अनुरोध गरेको छ । जिल्लाका शैक्षिक संस्थाहरू भने अवस्था सामान्य भएपछि मात्रै सञ्चालन हुने भनेर हिजो सूचना जारी गरेका थिए ।




Post Comment