२६ भाद्र २०८२, बिहीबार

बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)

१४ साउन, काठमाडौं । 

बलात्कारको आरोपमा पक्राउ परेका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराजले मुद्दा रोक्नका लागि लाखौँ रकम खर्च गरेको प्रहरीसँग स्वीकार गरेका छन् । अहिराजका अनुसार उनले जाहेरीकर्ता २३ वर्षीया युवतीलाई एकमुष्ट नै ३ लाख रुपैयाँ दिएका थिए । प्रहरीसँगको बयानमा अहिराजले आफूले बलात्कार भने नगरेको दाबी गरेका छन् । तर, यत्रो रकम के परिबन्दमा परेर दिनुपर्‍यो भन्ने उनको बयानबाट प्रष्ट हुँदैन । प्रहरीले यसलाई पनि उनीमाथि शंकाको आधार बनाएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘जाहेरीकर्ताले आफूलाई झूटा मुद्दा हाल्ने धम्की दिएकाले ३ लाख रुपैयाँ उनलाई दिएको अहिराजले स्वीकारेका छन् । यदि आफूबाट कुनै गल्ती भएको छैन भने यत्रो रकम कसैले यत्तिकै खर्चिँदैन ।’ बयानमा अहिराजले युवतीसँग आफ्नो पारिवारिक चिनजान रहेको बताएका छन् । युवतीले पाइलट कोर्स गर्न विदेश जाने इच्छा गर्दै आफूसँग २० लाख रुपैयाँ मागेको र आफूले पनि वचन दिएको उनको भनाइ छ । तर, युवतीको भिसा नलागेपछि उनी तनावमा परेको अहिराजले बताएका छन् । सो पश्चात् नेपालमै व्यवसायी गर्ने भनी २० लाख रुपैयाँको लागि ताकेता गरेको तर आफूले दिन नसकेको अहिराजको बयानमा उल्लेख छ । पैसा नपाएकै रिसमा युवतीले आफूलाई बलात्कार मुद्दा लगाउने प्रपञ्च गरेको उनले दाबी गरेका छन् । मुद्दा लगाइदिने भनेर फोन र ह्वाट्सएपमा म्यासेज पठाएर लगातार टर्चर दिएपछि आफूले ३ लाख रुपैयाँ उनलाई दिएको अहिराजले स्वीकार गरेका छन् । आफैँले उनलाई होस्टलबाट गाडीमा राखेर भिमसेनगोलाको सनराइज बैकमा पुर्याइ तीन लाख रुपैयाँको चेक उनको खातामा जम्मा गरिदिएको र फेरि आफ्नै गाडीमा फर्काएको समेत उनको बयान छ । बयानमा भनिएको छ- जाहेरवालाले ह्वाट्सएपको च्याटमार्फत बेला–बखतमा पैसा माग गर्ने र नदिएमा मलाई झुट्टा मुद्दामा फसाइदिन्छु भनी धम्की दिन थालिन् । निजको पटक–पटकको मानसिक दबाबको कारण दिक्क भएर मैले निजलाई थोरै पैसा दिन सक्ने भनेर कुराकानी गरेँ ।

२०८१ सालको भाद्र १८ गते ह्वाट्सएपमार्फत आफ्नो लक्ष्मी सनराईज बैंकको खाता नं. उनले लेखिपठाइन् । १९ गते मसँग निजले पैसाको ताकेता गर्न थालिन् । भदौ २३ गते आइतबार निजले आफ्नो होस्टेल अगाडि आएर मेरो गाडीमा बसी भिमसेनगोला चोकस्थित लक्ष्मी सनराइज बैंकमा मैले दिएको तीन लाख रुपैयाँ आफ्नो खातामा जम्मा गरी मलाई स्लिप देखाई मेरो गाडीमा बसेर फर्किन् । मुद्दा रोक्नका लागि यसरी पैसा दिनुले नै अहिराजमाथिको आरोप बलियो हुने प्रहरीअधिकारीहरुको बुझाइ छ । प्रहरीले देखाएको अर्को आधार भनेको जाहेरीकर्ता युवतीको मेडिकल रिपोर्ट हो । प्रहरी प्रतिवेदनमा उल्लेख भए अनुसार २६ परिसर (प्रहरीले दिएको नाम) को यौनजन्य परीक्षणका क्रममा hymen: old tear (कन्याजाली च्यातिएको) पाइएको छ । कन्याजाली च्यातिनुका विभिन्न कारण हुन सक्छन्, जसमध्ये यौनसम्बन्ध एउटा हो । बारदातका सम्बन्धमा जाहेरी मिलानको ब्यहोरा पीडितले यौनजन्य परीक्षणका क्रममा लेखाएको देखिएबाट राजेश अहिराजले २६ परिसर उपर जबरर्जस्ती करणी गरेको तथ्य सप्रमाण स्थापित हुन आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना भएको २०८१ साल जेठ ४ गते हो । बिहान ९ बजेको समयमा परिसर २६ परिसरको कोठामा गई जबरजस्ती करणी गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । घटनास्थलको मुचुल्काले पनि पीडितको दाबीलाई समर्थन गरेको प्रहरीको भनाइ छ ।

 

यो मुद्दामा उमेरको विवाद भने छैन । जाहेरीकर्ता पक्षबाटै नाबालिग दावी नगरिएको हुँदा जबरजस्तीमा वा गलत प्रभावमा पारेर सम्बन्ध राखेको प्रमाणित गर्नुपर्ने चुनौती छ । यदि आपसी सहमतिमै सम्बन्ध कायम भएको देखियो भने बलात्कार ठहरिँदैन । सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को खण्ड (ङ) बमोजिम मैद सजाय तथा उपदफा (३क) को खण्ड (ग) बमोजिम जरीवाना गराई सो जरिवाना रकम पीडित राहत कोषमा दाखिला गराउन माग गरेको छ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ मा जबरजस्ती करणी गर्ने व्यक्तिलाई हुने सजायबारे उल्लेख छ । जसअनुसार १८ वर्षभन्दा बढी उमेरकी युवती वा महिलालाई बलात्कार गर्दा सात वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुन्छ । यस्तै, तीन लाख रुपैयाँ जरिवानाको व्यवस्था रहेको छ ।

घटनाका जाहेरीकर्ता २६ परिसरले यस्तो बयान दिएकी थिइन्:

‘म जाहेरवालाको कसुरदार राजेश झा अहिराजसँग मेरो घरको नजिकको नातेदारबाट चिनजान भएको हो । सोही समयदेखि नै निज कसुरदार मेरो विराटनगरस्थित घरमा जाने आउने क्रम चलिरहन्थ्यो । सोही समयदेखि निज विपक्षी मसँग नजिक हुन चाहेका रहेछन् । म पढाइमा व्यस्त भएका कारण थुप्रै समयसम्म निजसँग मेरो भेट भएन । केही वर्षपछि म काठमाडौं अध्ययनको सिलसिलामा आएको थाहा पाएर निज मेरो बानेश्वरस्थित डेरामा आउन जान थाले । पारिवारिक चिनजानको मान्छे भएका कारण मैले नआऊ भन्न सकिन । निजसँग म करिब १७ वर्षको हुँदाको बखत पहिलो पटक विराटनगरमा भेटघाट भएको थियो । सोही समयबाट निज आफ्नै घरमा आउने जाने गर्थेँ । केही वर्षपछि उच्च शिक्षा अध्ययनको सिलसिलामा म काठमाडौं आएको थाहा पाएपछि बानेश्वरस्थित मेरो डेरा गरी बसेको कोठामा पनि आउने–जाने गर्न थाले । मिति: २०८१।२।४ गतेका दिन म मेरो बानेश्वर स्थित डेराकोठामा एक्लै बसिरहेको अवस्थामा मसँग एउटा जरुरी कुरा गर्नु छ, तपाईँको परिवारबाट सन्देश ल्याएको छु भनी बहाना बनाइ आउनुभयो र कोठाभित्र पसी बेडको छेउमा बस्नुभयो । म पनि अर्को बेडको छेउमा बसेँ । के सन्देश ल्याएको फोनमा नै भनेको भए हुन्थ्यो, म एक्लै भएको ठाउँमा किन आउनु भएको भनी मैले भनिरहँदा, उहाँले तिमी किन डराएको तिम्रो घरपरिवारसँग चिनजान भएको हुनाले निर्धक्क भएर बस, मलाई पनि सास फेर्न देऊ भनी पानी माग्नु भयो । मैले पानी दिए लगत्तै उठेर ढोकाको चुकुल लगाउनु भयो । मैले किन चुकुल लगाउनु भएको भन्दा सिधा आई मेरो मुख थुनी मलाई बिस्तारामा पछार्नु भयो ।

 

हल्ला गर्ने चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो । त्यति भन्दा पनि मैँले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरी मारिदिन्छु, तेरो घरका व्यक्तिहरू पनि यहाँ छैनन्, तँलाई कसले मार्‍यो, कसैलाई पनि थाहा हुँदैन, नेपालमा पैसा र पावर हुनेकै कानुन छ भन्दै धम्की दिँदै मेरो अस्मिता लुटियो । लगातार करणीपश्चात् मेरो संवेदनशील अंगबाट रगत बगिरहेको थियो । अब छोडिदिनुहोस् भनी पटक–पटक बिन्ती गर्दै उम्किने प्रयास गर्दा समेत जबर्जस्ती करणी गरिरहे । दिउँसोको करिब १२ बजेको समयसम्म करणी गरिसकेपछि अब तँ मधेशी परिवारको छोरी होस्, यो घटना कसैलाई भनिस् भने तँलाई कसैले पनि विवाह गर्दैन, उल्टै मधेशी समाजले तेरो परिवारलाई बहिष्कार गर्दछ, तँ र तेरो परिवार कहीँ कतै देखाउन लायक हुने छैन, बाध्यबस स–परिवार नै आत्महत्या गर्ने अवस्थामा पुग्नेछन्, तर पनि कसैलाई भनिस् भने कि तँलाई मार्दिन्छु, कि तेरो भाइलाई अपहरण गरी मारिदिन्छु भनी आफ्नो वस्त्र लगाई कोठाबाट निस्किनु भयो ।

राजेश झा अहिराजको बयान भने यस्तो छ:

मेरो जाहेरवालाको नातेदार मार्फत निजको आमासँग ६ वर्ष पहिला चिनजान भएको हो । त्यसपछि जाहेरवाला परिवर्तित नाम २६ परिसर (३२) ०८१।०८२ र निजको भाइसँग चिनजान भएको हो । पछि निज जाहेरवालाको आमाले जाहेरवालालाई काठमाडौंमा अध्ययन गराउन मसँग सहयोग मागिन् । मैँले निज जाहेरवालालाई काठमाडौं अनामनगरको गर्ल्स होस्टेलमा कुरा गरिदिए पछि जाहेरवाला उक्त होस्टलमा बस्न थालिन् । त्यसको केही वर्षपछि जाहेरवालाको आमाले जाहेरवालाको भाइलाई पनि काठमाडौंमा नै पढाउन पाए हुन्थ्यो भनी कुराकानी गर्ने क्रममा जाहेरवालाको आमा पनि काठमाडौंमा आई कुनै व्यवसाय गर्ने भनी सर सल्लाह गर्ने क्रममा काठमाडौंको भिमसेनगोला स्थित एउटा घर बहालमा लिई जाहेरवाला, निजको आमा र निजको भाइ समेत काठमाडौंको भिमसेनगोला स्थित कश्यप ब्वाईज होस्टेल सञ्चालन गरी निजहरू पनि सोही भवनमा बस्न थाले । २०८० सालतिर निजको आमाले छोरा छोरीलाई विदेश पठाउनु पर्ने पैसाको व्यवस्था कहीँ कतै भएन तपाईँले सके सापट नभए ऋण भए पनि खोजिदिन आग्रह गरिन् । त्यसको केही समयपछि निजकी आमाले अन्तबाट भए पनि ऋण खोजी दिन वा हाम्रो विराटनगरको जग्गा किनिदिन वा बिक्री गराइदिन आग्रह गरेकी थिइन् । तर कुनै किसिमको सहयोग नपाउँदा रिसाएकी थिइन् ।

सो क्रममा जाहेरवालाको आमाले छोराछोरीको शिक्षा र होस्टेल सञ्चालनमा आउने समस्यामा मसँग कुराकानी गर्दथिन् । बेला बखतमा म पनि निजले बोलाउँदा निजको होस्टेलमा जाने गर्दथेँ । होस्टेल जाने क्रममा एक दिन जाहेरवाला, निजको आमा र निजको भाइ भएको बेलामा जाहेरवालाले म विदेश पढ्न जानुपर्‍यो, मलाई पैसा सापटी दिनु वा ऋण खोजिदिनु भन्दा निजको आमाले तिमी अध्ययनको तयारी गर सबै जनाले सकेको सहयोग गर्नेछौँ भनी निजलाई आश्वासन दिएकी थिइन् । सोही क्रममा जाहेरवालाले मलाई पाइलट पढ्ने रहर भएको र सो को लागि लगभग रु.६०,००,०००।– (साठी लाख) लाग्ने भएकोले घरबाट बुवा आमाले ४०,००,००० दिने र मलाई पनि रु.२०,००, ०००।–(बीस लाख) खोजिदिन आग्रह गरिन् । मैँले पनि तिम्रो भिसा आएपछि तिमी विदेश जाने अवस्थामा आफूले सक्ने सहयोग गर्छु भनेर जाहेरवालाको हौसलालाई बलियो बनाउने काम गरेको थिएँ । तर पटक–पटक भिसाको लागि जाहेरवालाले गरेको प्रयासमा निज असफल भएपछि जाहेरवाला मानसिक तनावबाट गुज्रिन थालिन् । निजको अन्य मानिससँग संवाद कुराकानी तथा व्यवहारमा समेत फरकपन आउन थाल्यो । घरभित्र पनि तनावको अवस्था निर्माण गरी बस्थिन् । जाहेरवालाको आमाले मलाई कहिलेकाहीँ फोन गरेर जाहेरवालाको व्यवहार असुहाउँदो हुन थाल्यो, रात्रि क्लबहरू जान थालिन्, व्यवहार बिग्रियो, मसँग पनि अस्वस्थ संवाद कुराकानी गर्न थालिन् भनेर गुनासो गर्न थालिन् । जाहेरवाला रात्रिकालीन क्लबमा गएको कारण निज र निजको भाइसँग पनि हातपात भएको थियो । सो झगडा नगरी मिलेर बस्नको लागि निजको आमाको आग्रहमा म समेत गई छलफल गराएको हो ।

त्यसको केही समय पछि २०८० सालको माघ महिनातिर निज जाहेरवालाले मसँगको भेटमा मेरो करिअर बिग्रियो, मेरो भिसा लागेन भनेर चिन्ता व्यक्त गर्दथिन् ।एकातिर निजको भिसा नलागेर आफू विदेश जान नपाएको रिस, अर्कोतिर आफ्नो भाइको विदेश पढ्न जाने चाँजोपाँजो मिल्नु र आफ्नै संवादको कारण अरूसँगको सम्बन्ध पनि बिग्रिन थालेपछि निजको व्यवहारमा एकदमै नकारात्मकता देखिन थाल्यो । निजको होस्टेलमा गएको समयमा निजको आमा, भाइ भएको समयमा निजसँग मेरो पटक–पटक भेटघाट हुँदै आएको थियो । मिति: २०८१ असार ३ गते जाहेरवालाले मीन भवनस्थित जिम्बु थकालीमा खाजा खाने गरी भेट्दा निजको भाइ विदेश जाने कुरा भइसक्यो, म चाहिँ विदेश जान सकिन भनी गुनासो पनि पोखिन् र ५ गते निजको भाइको जन्मदिन परेकोले जाहेरवालाले म, निजको भाइ र जाहेरवाला भई सँगै केक काटेर जन्मदिन मनाउने भनी आग्रह गरेकीले हामी तीनै जना कीर्तिपुरतिर गई निजको भाइको जन्मदिन मनाएर दिउँसो हामी फर्कियौ । त्यसको केही दिन पछि निजको भाइको आग्रहमा जाहेरवाला, निजको भाइ र मसँगै भक्तपुरको राधे राधे स्थित दिउँसो थाई रेष्टुरेन्टमा गई निजको भाइको बर्थडे पार्टीको रूपमा गई खाजा खाएर आयौँ ।

 

जाहेरवाला आफ्नो पढाई बिग्रेको रिसमा मसँग पनि पछिल्लो समयमा म विदेश गए पनि नगए पनि मलाई पैसा दिनु, म नेपाल मै आफ्नो व्यवसाय गरेर बस्छु भनी निजको आमालाई भन्न थालिन् । केही समयपछि मलाई पनि दबाब दिन थालिन् । त्यसपछि मैले तिमीसँग सापटी वा ऋण नलिएको र तिमी विदेश जानको लागी भिसा नलागेको कारण मैँले पैसा दिनुपर्ने वा खोजी दिनुपर्ने कुनै अवस्था छैन भनेँ । त्यसपछि निज जाहेरवाला आफ्नो घरमा झगडा गर्ने, बाहिर महिला अधिकारकर्मीहरूसँग सम्पर्कमा गएर मलाई टार्गेट गरेर संवादहरू गर्न थालिन् । सोही क्रममा बाहिरबाट पाएको उक्साहटपूर्ण सल्लाहको कारण जाहेरवालाले मलाई एक दिन ह्वाट्सएपमा फोन गरेर मलाई रु.२०,००,०००।– (बीस लाख) दिनु, नदिएमा म जे पनि गर्न सक्छु, म तपाईँको इज्जत प्रतिष्ठा मान मर्यादा केही कुराको ख्याल राख्दिन भनी धम्की दिन थालिन् । मैँले पनि निजलाई पैसा दिनुपर्ने कुनै जरुरी छैन भनेँ । तर जाहेरवालाले हवाट्सएपको च्याट मार्फत बेला बखतमा पैसा माग गर्ने नदिएमा मलाई झुट्टा मुद्दामा फसाइदिन्छु भनी धम्की दिन थालिन् । निजको पटक–पटकको मानसिक दबाबको कारण म दिक्क भएर अलिकति पैसा दिएर तनाव मुक्त हुन सकिन्छ कि भनेर मैँले निजलाई म थोरै पैसा दिन सक्छु भनेर कुराकानी गरेँ । मिति: २०८१ सालको भाद्र १८ गते ह्वाट्सएपमार्फत आफ्नो लक्ष्मी सनराईज बैंकको खाता नं. लेखी पठाइन् । १९ गते मसँग निजले पैसाको ताकेता गर्न थालिन् । ऐ. भदौ २३ गते आइतबार निजले आफ्नो होस्टेल अगाडि आएर मेरो गाडीमा बसी भीमसेनगोला चोकस्थित लक्ष्मी सनराईज बैंकमा मैँले दिएको रु. ३,००,०००।– (तीन लाख ) आफ्नो खातामा जम्मा गरी मलाई स्लिप देखाई मेरो गाडीमा बसेर फर्किन् ।

निज होस्टेल अगाडी ओर्लिने क्रममा मलाई अब मानसिक तनाव नदिनु, म अब कुनै पनि खालको पैसा दिन सक्दिन भनेर म छुट्टिएँ । तर निजले मलाई पटक–पटक पैसा माग्न थालिन् । म दिक्क भएर कार्तिक ३० गते निजको होस्टेलमा गएर निजको आमा, भाइ भएको बेलामा मैँले निजको आमालाई तपाईँको छोरीले मलाई धेरै दुःख दिइन्, मलाई झुटा मुद्दामा फसाइदिन्छु भनी धम्काइ मानसिक तनाव दिएकी छिन् भन्दा निजको आमाले हाँस्दै सामाजिक प्रतिष्ठा भन्दा पैसा ठुलो हुँदैन, नेपालको कानुन तपाईँलाई थाहा छैन, जबरजस्ती करणीको मुद्दा हालिदियो भने तपाईँको सर्वस्व सकिन्छ । हाम्रो केही पनि जाँदैन, हामीलाई वकिल खर्च पनि लाग्दैन, मुद्दा हारे पनि हामीलाई कुनै सजाय हुँदैन हाम्रो मुद्दामा नाम पनि आउँदैन, बरु उल्टै तपाईँलाई हतकडी लाग्छ, प्रहरीको हिरासतमा बस्नुपर्ला भनी धम्कीपूर्ण संवाद गरेकी थिइन् । म निजको होस्टेल गएको बेला त्यस्तो कुरा नगर्न आग्रह गर्दा जाहेरवालाले मेरो फोटो खिचेर भिडियो पनि बनाएकी थिइन् ।निजले मेरो अगाडि नै जाहेरवालाको मामाघरको हजुरआमालाई फोनमा तथानाम गाली गलौज गर्दा मैँले उक्त कुरा सुन्न नसकेर निजको हातबाट मोबाइल समेत खोसिदिएको थिएँ । यो व्यवहारबाट म दिक्क भएर कानूनी उपचारको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गरेर आफूसँग पटक–पटक पैसा मागेको च्याटसहित जाहेरी दरखास्त लेखी २०८१ सालको मंसिरको पहिलो साता तिर जिल्ला प्रहरी परिसरको मुद्दा शाखामा मितिः २०८१।०८।०७ गते आपराधिक लाभ (एक्सटर्सन) को मुद्दा दर्ता गराएको थिएँ । तर सो कुरा जाहेरवालाको घर परिवारलाई थाहा नभएको कारण मंसिर ८ गते नयाँ बानेश्वरको मिलनचोक स्थित चिया पसलमा निजको आमा र भाइले मलाई भेट्न बोलाएर मसँग पैसाको दबाब दिएका थिए ।

मंसिर १२ गते मलाई निजको भाइले होस्टेल भित्र बोलाएर जाहेरवाला, निजको भाइ र आमा तिनै जना मिलेर पैसा नदिने हो भने हामीले झुटा मुद्दा लगाएर तपाईँलाई सिध्याईदिन्छौं । यो अन्तिम पटकको भेट हो भनी मलाई धम्काउँदा मैँले कुनै अपराध गरेको छैन, कानुन विपरीत कुनै काम गरेको छैन, म पैसा दिन्न भनी प्रष्ट अडान राखेको थिएँ । तर त्यसको केही समयपछि पुनः पौष ४ गतेमध्ये बानेश्वरस्थित घराना रेस्टुरेन्टमा निजको आमाले मलाई बोलाई हामीले तपाईँको नाममा जाहेरी दिएका छौँ, अन्तिम पटक सोध्दैछौं तपाईँले पैसा दिने कि नदिने ? भनेर मसँग पैसाको बार्गेनिङ गरेका थिए । उक्त सम्पूर्ण घटनाक्रम र पैसाको बार्गेनिङ गरेको अडियो र भिडियो मैले दर्ता गराएको आपराधिक लाभ मुद्दामा पेश गरेको छु । सोपश्चात् मैले समाजका केही भद्र भलाद्मीको बीचमा आफ्नो समस्या बताएको थिएँ । समाजका मानिस निजको होस्टेलमा जाँदा निज जाहेरवालाहरूको षड्यन्त्र समाजमा सार्वजनिक भएको आक्रोश र आपराधिक लाभ (एक्सटर्सन) को मुद्दा दर्ता भएको जानकारी पाउँदा जाहेरवालाले रिस खप्न नसकी बदलाको भावनामा आई ममाथि बनावटी काल्पनिक झुटा आरोप लगाएकी हुन् । मैले निज जाहेरवालालाई जबरजस्ती करणी गरेको छैन । निजले मसँग पटक–पटक पैसा मागिरहँदा समेत निजलाई पैसा नदिएको र निजले मबाट विभिन्न धम्की देखाई पैसा लिएको हुँदा निजको विरुद्धमा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा आपराधिक लाभ मुद्दा दर्ता गराएको कारणले मेरो सामाजिक प्रतिष्ठा तथा चरित्र हत्या गर्ने नियतले लामो समयसम्म सोच बिचार गरी मेरो विरुद्धमा जबरजस्ती करणी गरेको भनी जाहेरी दरखास्त दिएकी हुन् । घटना भएको भनिएको दिन म काठमाडौंमा रहेता पनि निजसँग मेरो भेटघाट भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment