गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
९ साउन, काठमाडौं ।
गएको वर्ष प्रदेश प्रहरी कार्यालय विराटनगर मातहत १४ जिल्लाबाट झण्डै २७ हजार किलो लागूऔषध गाँजा बरामद गरी नष्ट गरिएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष ०८१/८२ मा प्रदेशका विभिन्न जिल्लाबाट २६ हजार ७ सय ५ किलो ३ सय ५८ ग्राम गाँजा बरामद भएको हो।गाँजाको प्रयोग, बेचबिखन र ओसारपसारलाई नियन्त्रण गर्न विभिन्न जिल्ला, इलाका, चौकी तथा अस्थायी प्रहरी चौकीबाट परिचालित प्रहरीले चेकजाँच, छापामारी, खानतलासी तथा अन्य कारबाहीको क्रममा सो परिमाणको जाँगा बरामद भएको हो।
गाँजा प्रयोग, ओसारपसार, बेचबिखन कार्यमा नियन्त्रण तथा त्यसमा संलग्नहरूलाई कारबाही गर्ने सिलसिलामा पक्राउ परेको हो। प्रहरीले कतै बिरामी बोक्ने एम्बुलेन्समा बोकेको अवस्थामा, कतै नक्कली सरकारी नम्बर प्लेट लगाएको सवारी साधनमा, तरकारी बोक्ने गाडीमा, मोटरसाइकललगायत साना ठूला सवारी साधनमा र नदीमा बगाउँदै र जमिनमुनि गाडेर लुकाईछिपाई राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक (डिआईजी) इश्वर कार्कीले गाँजाको बढ्दो प्रयोग, ओसारपसार र बेचबिखनलाई नियन्त्रण गर्न प्रदेश प्रहरीले आक्रमक रूपमा मातहतका युनिटमार्फत प्रहरी जनशक्ति परिचालन गरेको बताए। उनका अनुसार गत वर्ष जिल्ला प्रहरी कार्यालय सुनसरीले मात्र १२ हजार ३ सय ७५ किलो ९ सय २९ ग्राम गाँजा बरामद गरेको छ। त्यसैगरी मोरङ प्रहरीले ६ हजार ६ सय ५० किलो ४ सय ग्राम बरामद गर्दा धनकुटाले ४ हजार १ सय ९४ किलो ३ सय ग्राम बरामद गरेको छ।
यता उदयपुर प्रहरीले १ हजार ८ सय १० किलो ४ सय ८४ ग्राम, झापा प्रहरीले १ हजार ६ सय ५१ किलो २ सय ८२ ग्राम बरामद गरेको डिआईजी कार्कीले बताए। प्रदेशका १४ मध्ये ५ जिल्लाहरु सुनसरी, मोर, धनकुटा, उदयपुर र झापाबाट मात्र २२ हजार ४ सय ८८ किलो गाँजा बरामद भएको डिआईजी कर्कीले बताए। बाँकी ९ जिल्लाबाट ४ हजार २ सय १६ किलो ९ सय ५ ग्राम गाँजा बरामद भएको छ। सो परिमाणको गाँजासँगै प्रहरीले प्रदेशभरबाट १ सय ८९ जना कारोबारीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। जसमा पुरुष पक्राउ संख्या १ सय ६५ र महिला २४ जना रहेका छन् भने गाँजा ओसारपसारमा संलग्न ३१ वटा चारपाङ्ग्रे र ७५ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको छ। प्रदेश प्रहरी कार्यालयका सूचना अधकिारी एसपी दिपक पोखरेलका अनुसार सो वर्ष प्रदेशका विभिन्न जिल्लाको खेतबारीमा आफैँ उम्रेको तथा व्यावसायिक रूपमा बाली लगाइएको अवस्थामा गाँजाको लाखौँ बोटविरुवा नष्ट गरेको छ।
गाँजा खेती लगाइएको बारे जानकारी आएपछि प्रहरी टोली परिचालन गरी फँडानी गरेर नष्ट गर्ने गरिएको उनले बताए। जसमा सबभन्दा बढी भोजपुर प्रहरीमार्फत २८ लाख ४६ हजार बोट नष्ट गरिएको छ भने दोस्रो उदयपुर प्रहरीमार्फत १६ लाख ८ हजार ५ सय बोटविरुवा नष्ट गरिएको एसपी पोखरेलले बताए। त्यस्तै धनकुटाले १२ लाख ५९ हजार बोट, सोलुखुम्बुले २९ हजार ७ सय बोट, खोटाङले २६ हजार २ सय बोट गाँजा नष्ट गरेको छ। अन्य विभिन्न जिल्ला गरि प्रदेशभरिको २ हजार ४ सय ६४ रोपनी क्षेत्रफल जमिनमा लगाएको गाँजाको लाखौँ बोटविरुवा फँडानी गरी नष्ट गरिएको प्रदेश प्रहरीले जनाएको छ।
Post Comment