बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
बङ्गलादेशको राजधानी ढाकास्थित एक विद्यालयमा वायु सेनाको लडाकू विमान खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । दुर्घटनामा एक सय ७१ जना घाइते भएका छन् । मृतकमध्ये २५ जना बालबालक रहेको पुष्टि भइसकेको छ । स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजेर १८ मिनेटमा ढाकाको उत्तर भागमा अवस्थित ‘माइलस्टोन स्कूल एन्ड कलेज’ को भवनमा बङ्गलादेश एयर फोर्सको सेभेन जेट लडाकू विमान खसेको थियो ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार यान्त्रिक गडबडीका कारण विमानले नियन्त्रण गुमाएको थियो। पाइलटले विमानलाई जनघनत्व कम भएको क्षेत्रमा अवतरण गराउने प्रयास गरे पनि विमान विद्यालयमै खस्न पुग्यो । यो दुर्घटनालाई बङ्गलादेशमा पछिल्ला केही वर्षयताकै सबैभन्दा भयावह हवाई दुर्घटना मानिएको छ । स्वास्थ्य मन्त्रालयका विशेष सहायक डा. सायेदुर रहमानका अनुसार घाइतेमध्ये ७८ जनाको अवस्था गम्भीर छ र उनीहरू विभिन्न अस्पतालमा उपचाररत छन् । सरकारले दुर्घटनापछि देशभर शोकको घोषणा गरेको छ । विद्यालय, मठमन्दिर, मस्जिद तथा सार्वजनिक स्थलहरूमा प्रार्थनाका कार्यक्रम आयोजना गरिएको छ ।
Post Comment