२६ भाद्र २०८२, बिहीबार

विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ

२० असार, विराटनगर ।

प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ परेका हुन् ।प्रहरीका अनुसार १५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी पक्राउ परेका थिए । समूहका नाइके पाण्डे १८ असारमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार यो समूहले ११ असार बिहान विराटनगर महानगरपालिका– १५ का विक्रमकुमार साह तेलीलाई अपहरण गरी उनको साथमा रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटेर लगेको थियो । प्रहरी हुँ भन्दै पुगेका तीन जनाको समूहले विराटनगर–१३ महतो टोलबाट साहलाई अपहरण गरेर लगेको थियो । विराटनगर–१४ जतुवामा पुर्‍याएर लुटपाट गरेपछि साहलाई छाडेको थियो । लुटपाटपछि कसैलाई भने मारिदिने धम्की दिएको थियो । प्रहरीका अनुसार साहलाई लिएर जानुअघि आफन्तलाई जिल्ला आउनु भन्दै धम्काएका थिए । प्रहरीले पक्राउ गरी जिल्ला ल्याएको भन्दै आफन्त प्रहरी कार्यालय आएपछि लुटपाटको विषय सार्वजनिक भएको थियो । प्रहरीका अनुसार अपहरण तथा लुटपाटमा संलग्न तीन जना पटके अपराधी हुन् । ३० साउन २०८० साउनमा उनीहरूले विराटनगर महानगरपालिका– १० संसारी माइस्थानमा दिनदहाडै महम्मद हलिम खानलाई तरबार प्रहार गरेका थिए ।

यो घटनामा पक्राउपछि हुसेन र अन्सारी अदालतबाट सफाइ पाएका थिए । प्रहरीका अनुसार पाण्डे भने फरार सूचीमा थिए । पाण्डे विराटनगरमै भए पनि माओवादी केन्द्रका स्थानीय नेताको संरक्षणमा रहेका कारण  प्रहरीले पक्राउ गर्न चासो दिएन् । प्रहरीका नाममा अपहरण र डकैत गरेपछि भने उनलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार प्रहरीको रेकर्डमा पाण्डेविरुद्ध दुई वटा ज्यान मार्ने उद्योग र एउटा अभद्र व्यवहारको मुद्दा छ । उनका अनुसार मञ्जु तामाङको जाहेरीले इलाका प्रहरी कार्यालय रानीले पाण्डेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । त्यस्तै, स्माइल साफीको जाहेरीले ज्यान मार्ने उद्योग र प्रवेज आलमको जाहेरीले अभद्र व्यवहार मुद्दा चलेको थियो । अन्य दुई जनालाई दुई वटा मुद्दा चलेको थियो । प्रहरी स्रोतका अनुसार तीन जनाको समूह यसअघिदेखि गुण्डागर्दीमा संलग्न थियो । तीन जनाविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment