असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी
११ असार, काठमाडौं ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयारी गरेको छ ।जसका लागि भोलि समितिको बैठक बोलाइएको छ । ‘सकेसम्म भोलि नभए पर्सी समितिबाट विधेक पास गर्छौं,’ सभापति अम्मर बहादुर थापाले भने । बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको छ । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ ।
केही विषयमा टुंगो लाग्न बाँकी छ । बिहीबार बिहान ८ बजे समन्वय उपसमितिको बैठक बोलाइएको छ । शिक्षा समितिका अनुसार, उपसमितिले मिल्न बाँकी विषय मिलाएर दिउँसो १ बजे समितिको बैठकमा लैजाने तयारी छ । समिति सदस्यहरूको एक मत भएमा अब छलफल धेरै विषय बाँकी छैनन् । ‘पर्सी(असार १३)सम्म पास गर्ने विषयमा माननीयहरूमा पनि भर पर्छ,’ सभापति थापाले भने । अब समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले छलफल गरेर पास गर्छ ।त्यसपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय प्रकिया पूरा गरेर अगाडि बढ्छ ।
राष्ट्रिय सभाबाट पास भएपछि पुन: प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रुपान्तरित हुन्छ । निजी विद्यालयको व्यवस्थापन र सञ्चालन, ईसीडी र शिक्षकका माग मुद्दा बढी पेचिलो बनेको थियो । गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेका थिए ।
Post Comment