पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित
१ असार, सर्लाही,।
सर्लाहीको बरहथवा नगरपालिकामा पाँच बुँदे माग राखी आमरण अनसनमा बसेका जनमत पार्टी बरहथवा नगर कमिटीका अध्यक्ष राजन सिंहले आज दिउँसो अनसन स्थगित गरेका छन्। नगर प्रमुख कल्पनाकुमारी कटुवाल, उपप्रमुख रामबाबुप्रसाद साह, जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव (सुजन) लगायत सरोकारवालाबीचको वार्तामा सिंहले उठाएका सबै मागहरू सम्बोधन गर्ने सहमति भएपछि अनसन तोडिएको हो।
सहमतिको क्रममै नगर प्रमुख कटुवाल र जिल्ला इन्चार्ज यादवले सिंहलाई जुस पिलाएर अनसन समाप्त गराएका हुन्। सिंह जेठ २९ गतेदेखि बरहथवा नगरपालिका कार्यालय अगाडि आमरण अनसनमा बसेका थिए। अत्यधिक गर्मीका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई हिजो बिहान नगर अस्पताल बरहथवामा भर्ना गरिएको थियो।
सिंहले पाँच मुख्य मागहरू अघि सारेका थिए —
१. डेढ वर्षअघि गोली लागी ज्यान गुमाएका जयशंकर साहको सालिक निर्माण,
२. जयशंकर साहकै नामबाट नगर अस्पतालको नामाङ्करण,
३. अस्पतालबाट सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था,
४. तीन वर्षको आय–व्यय विवरण सार्वजनिक गर्ने,
५. नगर अस्पताल निर्माणमा खर्च भएको बजेट विवरण सार्वजनिक गर्ने।
वार्तामा नगर प्रमुख कटुवालले जयशंकर साहको सालिक निर्माणका लागि बजेट विनियोजन भइसकेको र अस्पतालको नामाङ्करणका लागि आवश्यक प्रक्रिया निर्माण व्यवसायीबाट भवन हस्तान्तरण भएपछि अघि बढाइने बताइन्। साथै, उनले निःशुल्क औषधि व्यवस्थापनमा नगरपालिका गम्भीर रहेको र तीन वर्षको आय–व्यय विवरण नियमानुसार सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गरिन्।
Post Comment