२६ जेष्ठ २०८२, आईतवार

गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे

१५ जेठ, काठमाडौं ।

सभामुख देवराज घिमिरेले गणतन्त्रविरोधी गतिविधिहरू संविधानको अवमूल्यन मात्र नभई सहिदहरूको अपमान भएको बताएका छन्। गणतन्त्र दिवस २०८२ को शुभकामना दिँदै उनले आन्दोलनका सपना र बलिदानमाथि प्रहार गर्ने कुनै पनि चाहनालाई दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्ने बताएका छन्। ‘लोकतन्त्रमा देखिन खोजेका गणतन्त्रविरोधी गतिविधिहरू केवल संविधानको अवमूल्यन मात्र होइन, सहिदहरूको अपमान हो।

आन्दोलनका सपना र बलिदानमाथि प्रहार गर्ने कुनै पनि चाहनालाई सम्पूर्ण राजनीतिक दल तथा नेपाली जनता एकजुट भएर अस्वीकार गर्नुपर्दछ।’ उनले भने, ‘गणतन्त्र दिवसमा हामी सबै नेपालीहरूले गणतन्त्रको रक्षा, प्रवर्द्धन र सुदृढीकरणमा समर्पित भएर राष्ट्रलाई स्थायित्व, विकास र समृद्धिको दिशामा सफलीभूत गराउने संकल्प लिन जरुरी छ। ’ सभामुख घिमिरेले नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र दिवस जनताको बलिदानीपूर्ण संघर्षलाई स्मरण गराउने प्रत्येक नेपालीको साझा गौरवको दिन भएको बताए। गणतन्त्रको भावना केवल संवैधानिक संरचना परिवर्तनमा सीमित रहनु नहुने उनको तर्क छ।

‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै देशको राजनीतिक संरचना, शासन प्रणाली र नागरिक अधिकारको परिभाषा नै परिवर्तन भएको छ। यो ऐतिहासिक परिवर्तन केवल राजतन्त्रको अन्त्य मात्र थिएन; नेपाली जनताको लामो संघर्ष, बलिदान र जनआकांक्षाको औपचारिक जीत पनि थियो।’उनले भनेका छन्, ‘गणतन्त्रको भावना केवल संवैधानिक संरचना परिवर्तनमा सीमित रहनु हुँदैन। लोकतान्त्रिक गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्छ। अहिले देखिएका भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?