१२ श्रावण २०८२, आईतवार

विपद्जन्य घटनामा मोरङमा ९ महिनामा २५ जनाको मृ*त्यु

 

२८ वैशाख, मोरङ –

मोरङ जिल्लामा विगत ९ महिनाभित्र विपद्का घटनाबाट २५ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार गतवर्ष साउनदेखि चैत्र महिनासम्म सबैभन्दा बढी करेन्ट लागेर ५ महिला ८ पुरुष गरी १३ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा भएका ३६ वटा करेन्टका घटनामा २१ जना मानिस घाइते भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार जिल्लामा विपद्का विषयमा विभिन्न सचेतनात्मक कार्यक्रम हुँदै आएको छ।

९ महिनाको अवधिमा ३ सय ४४ वटा विभिन्न प्राकृतिक विपद्का घटनामा २५ जनाको मृत्यु र ७२ जना मानिस घाइते भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। जिल्लामा सर्पदंशबाट ३ महिला र २ पुरुष गरी ५ जनाको मृत्यु भएको छ। वर्षा र अत्याधिक गर्मीको समयमा सर्प जमिनबाहिर सहजै भेटिने हुँदा सर्पदंशका घटना हुने गरेको देखिन्छ। कार्यालयका अनुसार चट्याङ लागेर २ महिला र १ पुरुष गरी ३ जनाको मृत्यु भएको छ। त्यसैगरी, जिल्लामा २ सय २१ वटा आगलागीका घटनामा १ जना महिलाको मृत्यु र १७ जना घाइते भएका छन्। आगलागीबाट ६२ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको जनाएको कार्यालयले १२ करोड बढी मूल्यको क्षति पुगेको जनाएको छ।

कार्यालयका अनुसार जंगली जनावर आतंकका विभिन्न २६ वटा घटनामा १ महिला र २ पुरुषको मृत्यु भएको छ। जंगली जनावर आतंकका कारण पूर्ण रुपमा एउटा घर र २८ घर आंशिक रुपमा क्षतिग्रस्त भएको छ। १३ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति पुगेको जनाएको कार्यालयले मोरङको उत्तरपूर्व क्षेत्रमा हात्तीआतंकले बढी प्रभाव पारेको जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गएको ९ महिनामा ३ सय ४४ वटा विपद्का घटनामा १२ करोड ४० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?