इजरायली सैन्य आक्रमणमा १६ हजारभन्दा बढी बालबालिकाको मृ*त्यु
२३ वैशाख, इजरायल ।
सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु युद्धकै कारण भइरहेको छ ।
गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सले १६ हजार दुई सय ७८ जना बालबालिकाले ज्यान गुमाएको सोमबार बताए । उनका अनुसार तीमध्ये नौ सय आठ जना शिशु र तीन सय ११ नवजात शिशुहरू रहेका छन् । आवश्यक स्वास्थ्य सेवामा बाधा पु¥याउँदै इजरायलले मार्चको सुरुमा क्रसिङहरू बन्द गरेपछि युद्धरत गाजा क्षेत्रमा मानवीय अवस्था निकै बिग्रिएको उनले बताए। युद्धले हजारौँ बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा सङ्कटलाई अझ बढाएको छ ।
इजरायलले स्वास्थ्य पूर्वाधारलाई लक्षित गरी निरन्तर आक्रमण गर्दै आएको तथा प्रभावित क्षेत्रका स्थानीयसम्म सहयोग सामग्री पठाउने वातावरण नबनाउँदा धेरै बालबालिका स्वच्छ पिउने पानी र उचित पोषण, स्वास्थ्य सेवा र शिक्षा जस्ता अधिकारबाट बञ्चित बनेका छन् । अल–हाम्सका अनुसार बालबालिकाले एक छाक खाना समेत पेटभरी खान पाएका छैनन् भने गर्भवतीहरूले अस्पताल पुग्न धेरै चुनौतीको सामना गर्नुपरेको छ । हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण सकिएसँगै इजरायलले मार्च २ देखि गाजामा खाद्य सामानको आपूर्तिक समेत रोकेको थियो ।
Post Comment