मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
२९ फागुन, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम पुनः फर्किंदै छ । परिक्रमा यात्रुहरू १४औं दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औं दिन जनकपुरधाम आउन लागेका हुन् । जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा विश्राम गर्नेछन् ।
फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत रूपमा प्रारम्भ भएको थियो । फागु पूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । जसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू पनि सामेल हुने गर्छन् । यस परिक्रममा लाखौंं श्रद्धालुहरु सहभागी हुने गर्दछन् । १५ दिने परिक्रमा यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फुलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही र पुनः भारतको करुणा, विसौल हुँदै जनकपुरधामसम्म १३३ किलोमिटरको यात्रा गरिन्छ ।
Post Comment