खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
रुकुम पूर्व — सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड विवादका कारण स्थगित भएको छ । गत बिहीबार उद्घाटन भएर खेल भइरहेका बेला हिजो खेलाडीबीच भएको विवाद हात हालाहालको अवस्थामा पुगेपछि तत्काल प्रतियोगिताका कार्यक्रमहरु स्थगित गरेर मिलाउने प्रयास भइरहेको बताइएको छ ।
दौड प्रतियोगितामा भाग लिएका खेलाडीहरुबीच सामान्य विवाद भएको र त्यसले विद्यालय–विद्यालयबीचको तिक्तता बढेकोले समस्या भएको शिल्ड व्यवस्थापन तथा निर्देशक समितिका अध्यक्षसमेत रहेका पालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । ‘दौड चलिरहेका बेला प्रतियोगी खेलाडीबीच केही विवाद भयो । तर पछि त्यसले ठूलो रुप लिने स्थिति बनेपछि तत्कालका लागि कार्यक्रम स्थगित गरिएको हो,’ उनले भने, ‘विवादको विषयलाई समाधान गरेर खेल सुरु गर्न प्रयास भइरहेको छ । हामी लागिरहेका छौं ।’ उक्त विवादले झडपको रुप लिएपछि सिस्ने–६ स्थित त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक तुलसी केशव गौतम घाइतेसमेत भएका थिए ।
यसपछि उक्त घटनामा संलग्न भएको भनी आयोजक विद्यालय रुक्मीणी माविका व्यवस्थापन समिति अध्यक्ष ओम थापालाई केही समय प्रहरीले नियन्त्रणमा लिएर छाडेको जिल्ला प्रहरी प्रमुख डिएसपी माधवराज खरेलले बताए । ‘दुई पक्ष मिल्यौं भनेर आएपछि हामीले उहाँलाई छाड्यौं,’ उनले भने । विद्यालयहरुको आपसी भातृत्व र सद्भाव बढाई शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागितालाई बढ्वा दिने उद्देश्यले आयोजना गरिने यसप्रकारका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विवाद हुनु दुःखद् भएको पालिका अध्यक्ष रेग्मीको भनाइ छ । घटनामा संलग्ललाई आवश्यक कानुनी कारबाहीसमेत गरेर विवादको समाधान गर्ने र आगामी दिनमा यस्ता घटना हुन नदिन तर्फ सबै सचेत हुनुपर्नेमा उनको जोड छ ।
Post Comment