१४ श्रावण २०८२, मंगलवार

यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो

 

९ माघ,  काठमाडौं : आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो। मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो।

 

यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ। समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन। अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २/२ विकेट लिइन्। यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन्। एलेनोर लारोसाले ३० रन बनाइन्। खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याए पनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो। नेपालका लागि पूजाले ३ विकेट लिइन्। पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन्। सीमाना केसीले लगातार २ विकेट लिइन्। उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन्। रिया शर्माले १ विकेट लिइन्। विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो। नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?