राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
२ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । ती पाँचमध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् भने एउटा बाँकी थियो ।
बाँकी रहेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ । सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा गरिएको स्रोतले बतायो ।भूमि आयोगले गरेको सिफारिसका आधारमा कामलाई तीव्रता दिने हिसाबले व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालय निकट स्रोत बताउँछ ।
Post Comment