२३ माघ २०८२, बिहीबार

पुरानो रिसिवीको विवाद झिकेर वडाध्यक्षको ह*त्या

२८ कात्तिक, जनकपुरधाम ।  

धनुषामा पुरानो रिसिवीका कारण वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएको खुलेको छ । मिथिला बिहारी नगरपालिका वडा ९ का वडाध्यक्ष विन्देश्वर यादव गाउँकै प्रकाश यादवको बुवाको १३औं दिने मृत्यु संस्कार (नौकेश)को मा सहभागी हुन गएका थिए । वडाअध्यक्ष यादव आफ्ना दाजु रामनाथ यादव, भाई अशेश्वर यादवसहित त्यहाँ गएका थिए । सोही क्रममा स्थानीय धर्मनाथ यादव ९ दिने मृत्यु संस्कार चलिरहेको स्थानमा गालीगलोज गर्दै आएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय प्रकाश यादवको पिताको ९औं दिनको मृत्यु संस्कारमा मृतकका आफन्तसहित चार टोलका स्थानीय सहभागी थिए । मानिसहरू खाना खान जम्मा हुँदै थिए ।

मानिसहरू जम्मा भएका बेला गालीगलौज नगर्न वडाध्यक्षका भाई अशेश्वरले धर्मनाथलाई आग्रह गरे । तर, धर्मनाथ अशेश्वरमाथि नै जाइलागेर कुटपिट गर्न थाले । धर्मनाथ यादव गाली गर्दै आए । चारगाउँको आज भोज थियो । म पनि त्यहाँ थिएँ । मैले भने किन यसरी गाली गर्नु हुन्छ । त्यसपछि मलाई इँटालाठीले प्रहार गर्न थाले’ अशेश्वरले भने । उनका अनुसार त्यसपछि धर्मनाथका ४/५ जना शम्भु यादवसहित अन्य आफन्तहरू लाठी, पेस्तोल, खुकुरी बोकेर त्यहाँ आइपुगे । विवाद उग्र बन्ने देखिएपछि वडाध्यक्ष विन्देश्वर सम्झाउन अघि सरे । तर, त्यही बेला शम्भुले वडाअध्यक्ष विन्देश्वरमाथि गोली प्रहार गरे । गोली लागेर गम्भीर घाइते भएका वडाअध्यक्ष विन्देश्वरको प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए । ‘ममाथि कुटपिटपछि ४/५ जना हातहतियार, भाटा, खुकुरीसहित आए । आक्रमण गर्न थाले । वडाध्यक्ष दाई सम्झाउन आउनु भयो । भोजको झैझग्डा ठीक होइन भन्नु भयो,’ त्यतिनै बेला गोली चल्यो । मलाई लाग्यो पटाका पड्कियो । हेर्छु त दाईको छातीमै गोली लागेको छ,’ घटनाबारे बताउँदै उनले भने, ‘विवाद सुरु भएको दुई मिनेटभित्रै शम्भुले गोली हाने ।’ घटनामा मृतक वडाध्यक्ष विन्देश्वरका दाजु रामनाथ यादवसहित ७ जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीको बयान, प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार वडाध्यक्ष यादवको हत्या धर्मनाथ यादवसँगको पुरानो रिसिवीको कारणले भएको हो । गोली प्रहार गर्ने शम्भु नातामा धर्मनाथका भाइ (काकाका छोरा) पर्छन् । धर्मनाथ वडा नम्बर ९ का नेकपा एमाले वडा कमिटीका अध्यक्ष हुन् । गत २०७९ को चुनावमा स्वतन्त्रबाट जितेका वडाध्यक्ष विन्देश्वर एकवर्ष अघि एमालेमै नेता रघुवीर महासेठको हातबाट टीकाका लगाएर एमाले प्रवेश गरेका थिए ।विन्देश्वर त्यसअघि २०७४ को चुनावमा तत्कालीन उपेन्द्र यादवको पार्टी फोरम नेपालबाट निर्वाचित भएका थिए । २०७९ को चुनावमा भने टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र चुनाव लडेका थिए । मिलनसार स्वभावले गर्दा स्वतन्त्र उठ्दा पनि उनले चुनाव जितेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार विकास निर्माणको क्रममा वडाअध्यक्ष विन्देश्वर र धर्मनाथबीच बेलाबेला विवाद हुने गरेको थियो । धर्मनाथले वडाअध्यक्ष विन्देश्वरले गरेका काममा पदीय दुरुपयोग भएको भन्दै विभिन्न निकायमा उजुरी समेत दिने गरेका थिए । सोही कारण उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको थियो । एमालेबाट असहयोग भएपछि उनी पुन: एमालेमै फर्किएका थिए । विन्देश्वर एमालेमै फर्किँदा धर्मनाथलाई झन् असहज भएको थियो ।

धर्मनाथले गालीगलौज गर्दै विवाद झिकेर हत्याको पूर्व योजना बनाएको हुन सक्ने आशंका समेत गरिएको एक प्रहरी अधिकारीले बताए । प्रहरी जवानमै कार्यरत रहेका भाइ  शम्भु यादव समेत घरमा आएको बेला आक्रमणका लागि बल पुगेको हुनसक्छ, पूर्व योजना बनाएर घटना घटाएको आशंकामा अनुसन्धान अघि बढाएका छौं,’ ती प्रहरी अधिकारीले भने । मृतक वडाअध्यक्ष विन्देश्वरका भाई अशेश्वरलाई पनि आक्रमण गर्ने पक्षले योजनाबद्ध रूपमै दाजुको हत्या गरेको हुन सक्ने आशंका छ । ‘जसरी विवाद झिकेर आक्रमण भयो, दाईमाथि गोली नै प्रहार गर्यो, यसले मलाई लाग्छ पूर्वयोजना बनाएर घटना घटाएको हो,’ भाई अशेश्वरले भने । प्रहरीले धर्मनाथ र शम्भुलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?