लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
७ जेठ, काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच नोकझोक चलेको छ । बुधबार समितिको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच केहीबेर नोकझोक चलेको हो । समितिको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी बोलिरहेका थिए । उनले सत्तारुढ दलकै सांसद लेखा समितिको सभापति भएको विषयप्रति आपत्ति जनाउँदै थिए । उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने कुरा उठाए ।
म आरोप लगाउन त चाहन्न, तर तपाईंहरूको पार्टीको प्रधानमन्त्री हुनुहुन्छ, लेखा समितिको सदस्य पनि तपाईंहरूको पार्टींकै हुनुहुन्छ,’ मोदीले भनेका थिए, ‘अनि फरक मत पनि, पुरक प्रश्न पनि तपाईंहरू नै राख्नुहुन्छ । तपाईंहरू सिधा रुपमा गिजोलिराख्नुभएको छ । अनि प्रश्न उठ्दैन ? त्यही बीचमा नेकपा एमालेका सांसद गोकुल बास्कोटा, योगेश कुमार भट्टराई लगायतसँग नोकझोक चल्न थाल्यो । त्यहीबीचमै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एमालेका मात्रै सांसदलाई बोल्न दिएको भन्दै आपत्ति जनाए । उनलाई जवाफ दिँदै सभापति ऋषिकेश पोखरेलले भने, ‘गलत ब्याख्या नगरौं है ?’ उनले लेखा समितिको बैठकलाई दलीयकरण नगर्न पनि आग्रह गरे । ‘यो दलीय बैठक होइन नि । अहिले हामी सबै एउटै हौं । गलत कुरा चाहिँ नगरौं है ?,’ उनले भने, ‘यो मैले लेखेको होइन । यो सचिवालयले नै टिपाएको नाम हो । आफ्ना आफ्ना कुरा ढुक्क गरेर राखौं ।’
सोही बीचमा एमाले सांसद बास्कोटाले प्रतिप्रश्न गरे । ‘अनि म एमाले भएर बोल्या हो त ?’ त्यही बीचमा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ‘दुई दुई पटक योगेशीले कुरा राख्नुभयो’ भन्दै प्रश्न गरे ।
उनको प्रश्नमा यागेशले तुरुन्तै प्रतिप्रश्न गरिहाले, ‘मैले मेरो कुरा राख्न पाउँदिन ? को हो तपाईं मलाई डिक्लियर गर्ने ?’ बास्कोटाले भने आफूलाई सभापतिले समय दिएकाले बोलेको बताए । केहीबेर बैठक तनावपूर्ण बन्यो । माओवादी सांसद लेखनाथ दाहाल र मोदी स्वतन्त्र सांसद सिंह, एकीकृत समाजवादीका सांसद आले लगायतबीच सवालजवाफ चलेको थियो । सभापति पोखरेलले सांसदहरूलाई नियमावली सम्झाउँदै दलका प्रतिनिधि नभएको बताए । सांसद आलेले सत्ता पक्षलाई जस्तै आफूहरूलाई पनि दुई पटक बोल्न दिनुपर्ने बताए । तपाईंलाई दुइपटक बोल्न दिएको छ । हामी पनि दुईपटक बोल्छौं,’ सांसद आलेले भने । लगत्तै, सभापति पोखरेलले माओवादी सांसद मोदीलाई बोल्न आग्रह गरे । मोदी बोल्न लाग्दा पनि एमाले सांसद बास्कोटाले आपत्ति जनाए । उनले भने, ‘एमाले भएर यहाँ बसेको होइन । मेरो गम्भीर आपत्ति छ नि । म बोल्न नपाउने ? म लास्टमा आएँ । यहाँ बसेँ । अनि एमाले पहिला बोलेको भन्ने ?’
Post Comment