धसिएको कृष्णभिरको सडक मर्मत सुरु
२ जेठ, चितवन ।
गत वर्षको असोज १० गतेदेखि परेको अविरल वर्षासँगै धसिएको पृथ्वी राजमार्गको कृष्णभिरको सडक मर्मत थालिएको छ । सो सडकको करिब १०० मिटर लामो क्षेत्रमा दुई मिटर चौडा सडक ५० सेन्टिमिटर धसिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार हाल सडकको स्तरोन्नति गरिरहेको निर्माण कम्पनी शर्मा जेडआइसिजी जेभीले नै मर्मतको काम थालेको हो । यही महिनाभित्रमा सक्नेगरी तिव्र गतिमा काम भइरहेको छ ।
सडक विभागका इञ्जिनियर एवं विज्ञहरुको टोलीले अध्ययन गरेर मर्मतको काम थालिएको हो । वर्षात्को पानी छिरेर सडक धसिएको विज्ञहरुले जनाएको उहाँले जानकारी दिनुभयो । नदीले कटान गरेर धसिएको हुनसक्ने अनुमान गरिएको भए पनि विज्ञहरुले पानी छिरेर धसिएको प्रतिवेदन दिएका थिए । यसलाई माइक्रोपाइलिङ र होरिजेन्टल रक एङ्करिङ प्रविधिबाट मर्मत गरिंदै छ । सो काम सम्पन्न भएसँगै नदीले खोलेको तलको भागको अध्ययन गरी मर्मतको काम गरिने नेपालले जानकारी दिनुभयो । सोही समयमा धसिएको सडकको फेदमा त्रिशूली नदीको बहावले खोलेको छ । सोही क्षेत्रमा विसं २०५६ देखि लगातार वर्षात्को समयमा पहिरो गएपछि विसं २०६४ मा पहिरो रोकथामको काम सकिएको थियो । बायो इञ्जिनियरिङ र टेवा पर्खाल प्रविधिबाट पहिरो रोकिएको थियो । त्यसपछि यस क्षेत्रमा बाढी पहिरोबाट समस्या भएको थिएन ।
Post Comment