२६ जेष्ठ २०८२, आईतवार

सरकारी अस्पतालमा ओपीडी सेवा ठप्प, बिरामी अलपत्र

 

१२ वैशाख, काठमाडौं ।

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले ओपीडी सेवा ठप्प पारेका छन् । आकस्मिक र सघन उपचार बाहेका सेवा बहिस्कार गर्न बिहीबार नेपाल चिकित्सक संघले आह्वान गरेको थियो । जसका कारण काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा आज ओपीडी सेवा प्रभावित भएको छ । वीर अस्पतालका आवासीय लगायतका अन्य सिनियर चिकित्सक आन्दोलनमा साथ दिनका लागि माइतीघर मण्डला पुगेका छन् । जसका कारण ओपीडी सेवा सञ्चालन भएको छैन ।

वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले शुक्रबार ओपीडी सेवा सञ्चालन गर्न नसकिएको बताए । ‘हिजो अनलाइनमार्फत टिकट काटेका केही बिरामीलाई ओपीडीमा हेरियो । तर अन्य बिरामीलाई हेर्न सकिएन,’ डा. शर्माले अनलाइनखबरसँग भने, ‘चिकित्सक आन्दोलनमा जाँदा सेवा प्रभावित भएको छ ।’ शर्माका अनुसार भर्ना भएका र आकस्मिक रुपमा आएका बिरामीलाई जसोजतो सेवा दिइएको छ । ‘आइतबार पनि यो समस्याको हल नस्किए स्वास्थ्य सेवा पूर्णरुपमा प्रभावित हुनसक्ने देखिन्छ,’ शर्माले भने । वीर अस्पतालमा दैनिक दुई हजारभन्दा बढीले ओपीडी सेवा लिने गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टरको ओपीडी सेवा पनि पूर्णरुपमा अबरुद्ध भएको छ । अस्पतालका निर्देशक डा. बद्रि रिजालले भन्ने ‘अप्रेशन कक्षमा पनि आकस्मिक बाहेकका अन्य सेवा दिन सकिएको छैन ।’ उनले थपे, ‘सबै चिकित्सक काम नगर्ने भन्दै पत्र दिएर आन्दोलनमा जानुभएको छ ।’

यस्तै कान्ति बाल अस्पतालमा पनि ओपीडी सेवा बन्द भएको छ । अस्पतालका निर्देशक डा. पंकज रायका अनुसार आवासीय चिकित्सकले सेवा बहिस्कार गरेका छन् । ‘चिकित्सकले सेवा बहिष्कार गर्दा सेवा प्रभावित भएको छ । आइतबार पनि यही अवस्था रहे स्वास्थ्य सेवा प्रभावित हुने देखिन्छ,’ डा. रायले अनलाइनखबरसँग भने । पाटन अस्पतालका आवासीय चिकित्सकले सेवा बहिष्कार गरेपनि अन्य चिकित्सकको सहायताले सेवा सञ्चालन गरिएको निर्देशक डा. रवि शाक्यले बताए । ‘आवासीय चिकित्सकले सेवा बहिष्कार गरेर आन्दोलनमा जानुभएको छ । विभागका अन्य चिकित्सकले सेवालाई निरन्तरता दिनुभएको छ,’ डा. शाक्यले भने । चिकित्सकले सेवा बहिष्कार गरेसँगै अस्पतालमा पुगेका बिरामी अलपत्र परिरहेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा आज ओपीडी सेवा बहिस्कारको घोषणा गरिएको हो । आन्दोलनरत चिकित्सक अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन् ।आन्दोलनमा सरकारी अस्पतालका चिकित्सकको साथ

आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले शुक्रबारबाट सरकारी अस्पतालका सबै चिकित्सकले आन्दोलनमा साथ दिएको बताए । ‘सबै सरकारी अस्पतालका सिनियर चिकित्सक र आवासीय चिकित्सक माइतीघर मण्डलामा भेला हुनुभएको छ,’ डा. घिमिरेले भने, ‘देशभरका सबै प्रतिष्ठान र मेडिकल कलेजका चिकित्सकले साथ दिनुभएको छ ।’ सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् । २५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौं तहसरह) सेवासुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल सञ्चालकले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् । विकसित देशहरूमा पीजी विद्यार्थीले शुल्क तिर्नु नपर्ने र नेपालको सरकारी अस्पतालमा समेत मेडिकल अफिसर बराबरको सुविधा पाउने व्यवस्था छ ।

तर पीजी रेजिडेन्सी कार्यक्रमका लागि अस्पतालमा कुनै अतिरिक्त पूर्वाधार वा नयाँ फ्याकल्टीको आवश्यकता नपर्ने भए पनि निजी कलेजहरूले २३ लाख रूपैयाँसम्म शुल्क लिने गरेका छन् ।  दिनरात बिरामीको उपचारमा खटिने आवासीय चिकित्सकको तलब सुविधा भने निकै कम छ । सरकारी अस्पतालमा काम गर्ने आवासीय चिकित्सकले ४८ हजार रुपैयाँ पाउँछन् । निजी मेडिकल कलेजहरूमा त १८÷२० हजार रूपैयाँमै काम गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि उनीहरू तीन–चार महिनासम्म तलब नपाउने समस्या छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी दिएका छन् । ‘निजी मेडिकलले ४८ हजार निर्वाह भत्ता कार्यावन्यन नगरेसम्म मन्त्रालयसँग सरोकार रहेका कुनै पनि काम अगाडी बढ्दैन,’ मन्त्री पौडेलले भने, ‘निजी मेडिकल सञ्चालकले यस विषयमा थप तर्क गरिराख्न पर्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?