सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
४ वैशाख, सर्लाही।
प्रतिबन्धित लागू औषध गाँजाको ओसारपसारमा संलग्न एक युवकलाई लालबन्दी क्षेत्रबाट २४४ किलो गाँजासहित नियन्त्रणमा लिइएको छ। ईलाका प्रहरी कार्यालय लालबन्दीको समन्वयमा गरिएको विशेष अपरेशनमार्फत उक्त सफल कारवाही गरिएको हो। विशेष सूचनाका आधारमा हिजो राति करिब ११ बजे, मरिनबाट लालबन्दीतर्फ प्रतिबन्धित लागू औषध ओसारपसार भइरहेको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट चोकमा चेकप्वाइन्ट स्थापना गरेको थियो।
चेकजाँचको क्रममा मरिनतर्फबाट अत्यधिक गतिमा आएको बा २० च १७८२ नम्बरको बोलेरो पिकअप गाडीले चेकप्वाइन्टमा नरोकी सिधै भाग्ने प्रयास गरेपछि प्रहरी टोली सतर्क बनी गाडीलाई हिरापुर क्षेत्रमा रोक्न सफल भयो। त्यसपछि पिकअप गाडीमा सवार चालक, लालबन्दी नगरपालिका–१ नवलपुर निवासी करिब २५ वर्षीय सुशिल चौधरीलाई नियन्त्रणमा लिइयो। गाडीको जाँच गर्दा धानको भुसको बोरा मुनी लुकाइएको अवस्थामा रातो प्लास्टिकमा प्याक गरिएको ४५ वटा पोकामा राखिएको २४४ किलो २०० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारिएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले प्रतिबन्धित लागू औषधको रूपमा सो पदार्थलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार यस घटनासम्बन्धी थप अनुसन्धान भईरहेको छ। प्रहरीले लागू औषध नियन्त्रण सम्बन्धी कानून अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ।
Post Comment