भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
६ मंसिर, सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले भोलि शुक्रबार जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दैछ । विपक्षीले सरकारलाई ध्यानाकर्षणसँगै सरकारको कार्यशैलीलाई लिएर विरोध प्रदर्शन गर्ने परम्पराविपरीत एमालेले जागरण सभाको नाममा शक्ति प्रदर्शन गर्न लागेको हो ।
दरबारमार्ग केन्द्रित हुने प्रदर्शनमा उपत्यकासहित अन्य जिल्लाबाट एक लाख बढी कार्यकर्ता उतार्ने एमालेको तयारी छ । काठमाडौंमा भोलि नै सहकारी पीडितहरूको समेत प्रदर्शन छ । त्यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले पनि भोलि नै विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । तीन वटा छुट्टाछुट्टै प्रदर्शनले शुक्रबार काठमाडौंको सवारी आवागमनलाई समेत बाधा पुग्ने निश्चित छ । प्रहरीले सुरक्षा योजना नै बनाएर शुक्रबारको प्रदर्शनमा खटिन लागेको छ ।
दरबारमार्गमा एमालको प्रदर्शनमा सयौं कार्यकर्ता उपस्थित हुने सूचनासँगै प्रहरीको तैनाथी बढाउने जिल्ला प्रहरी परिसर काठमाडौंको तयारी छ । विशेषगरी नक्साल हुँदै आउने सवारीलाई हात्तीसारबाट, लाजिम्पाट र सोह्रखुट्टे हुँदै आउने सवारीसाधन केशरमहल हुँदै जमल ‘डाइभर्ट’ गर्ने तयारी ट्राफिक प्रहरीको छ । त्यस्तै, माइतीघरदेखि बबरमहलमा हुने सहकारी पीडित र प्रसाईं समर्थकको प्रदर्शनमा पनि सवारी रुट मिलाइएको छ ।
बानेश्वरदेखि बबरमहल हुँदै माइतीघर आउने र जाने सवारी साधनलाई उक्त सडक खण्डको बीच भाग खुला गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौं प्रहरीका प्रवक्ता, एसपी नवराज अधिकारीले आवश्यकता अनुसार सुरक्षाकर्मी खटाइने बताए । उनले भने, ‘प्रदर्शन शान्तिपूर्ण हुने कुरा हामीले पाएका छौं, मुठभेडको अवस्था आउन दिँदैनौं ।’
Post Comment