गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
१८ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रबारे भ्रम फैलाएर राजावादीहरूले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको बताएका छन् । वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र माओवादी र प्रचण्डले मात्र ल्याएको भन्दै भ्रम फैलाउने प्रयास भइरहेको बताए । माओवादी जनयुद्धको मुख्य भूमिका रहे पनि सबै जनता र कांग्रेस–एमालेलगायतका दलहरूको पनि साथका कारण मुलुकमा गणतन्त्र सम्भव भएको उनको भनाइ छ ।
‘कथित राजावादीहरूले यो गणतन्त्र माओवादीको बलमा मात्रै आएको हो । अझ तिखारेर भन्दा प्रचण्डले ल्याएको गणतन्त्र हो । कांग्रेस–एमाले प्रचण्डको गणतन्त्रको पछि पछि लागेका हुन् भनेर भ्रम फैलाउने गरेका छन् । झट्ट सुन्दा यसले हामीलाई आनन्द पनि लाग्न सक्छ,’ प्रचण्डले भने, ‘तर, हामीले बुझ्नु पर्छ, यो माओवादीलाई र प्रचण्डलाई एक्ल्याउनका लागि योजनाबद्ध रूपमा भनिएको हो । वास्तवमा गणतन्त्र नेपालका सबै जनताको योगदानले ल्याएको हो । गणतन्त्र आउनुमा माओवादीको मात्र होइन, कांग्रेस–एमाले लगायतका दलहरूको पनि सहयात्राबाट गणतन्त्र आएको हो । माओवादीको मात्र योगदानले गणतन्त्र आएको होइन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गणतन्त्रलाई यथास्थितिवाद र प्रतिगमनबाट रक्षा गर्दै समाजवादी गणतन्त्रतर्फ डोहोर्याउने चुनौती माओवादीसामू रहेको बताए । ‘एकातिर यथास्थितिवादसँग लड्नुपरेको छ, अर्कोतिर प्रतिगमनकारीसँग लड्नु परेको छ,’ उनले भने, ‘सरकारको कारणले प्रगतिमनले टाउको उठाउने प्रयास भएको छ । जनताले पाएको अधिकार खोस्न प्रतिगमनकारीले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेका छन् । त्यसलाई चिर्न जरुरी छ ।’
Post Comment