२६ जेष्ठ २०८२, आईतवार

पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

 

९ वैशाख, काठमाडौं–

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा यादव र अन्सारीले भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

नगरपालिकाबाट आर्थिक वर्ष २०७७–०७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा केएस मल्टिपरपोज प्राइभेट लिमिटेडका अध्यक्ष कमलकुमार उपाध्याय समेतको मिलेमतोमा पचरौता नगरपालिकाको ठेक्काको अभिलेखमा राख्नका लागि मात्रै प्रभाव दैनिक पत्रिकामा एकप्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको पाइएको छ। झुट्टा विवरण सहितको पत्रिकाको आधारमा ३ लाख ५२ हजार ५६० केएस मल्टिपर्पोज प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको हुँदा यादव र अंसारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले ३ लाख ५२ हजार ५६० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

यस्तै केएस मल्टिपरपोज कम्पनीका अध्यक्ष उपाध्यायले पचरौता नगरपालिकाबाट आर्थिक वर्ष ०७७–७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी ठेक्काका लागि मात्रै अभिलेखमा राख्ने गरी एक प्रति मात्र प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको पुष्टि भएको भन्दै उक्त कसूरजन्य कार्यको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई कसुर गरेको भन्दै मुख्य कसूरदारलाई हुने सजायलाई आधार मानेर उक्त कम्पनी तथा कम्पनीका अध्यक्ष उपाध्यायलाई मुख्य कसूरदार सरह सजाय गरी बिगो असुल गर्न मागदाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment