भक्तपुरमा बाबु–छोराको कोठामै ‘हत्या’, जेठो छोरा फरार
८ पुस, काठमाडौं । भक्तपुरमा बाबु छोरा मृत भेटिएका छन् । खोटाङ स्थायी घर भएका बुवा कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण मृत फेला परेका हुन् ।
कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा रहेको खुलेको छ । ‘शनिबार साँझ तीनै जनाले सँगै खाना खाएको कुरा आएको छ । बाहिरबाट ताल्चा लगाइएको थियो । तर, भित्र दुई वटा छुट्टाछुट्टै कोठामा शव छ’, जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी डीएसपी ढुण्डीराज न्यौपानेले सुनाए, ‘धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ ।’
जेठो छोरा मिलन सम्पर्कविहीन रहेको पाइएको उनले जानकारी दिए । शव अहिले घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको डीएसपी न्यौपानले बताए । कुलप्रसाद कार्यालयको कामले काठमाडौं आएको पाइएको भन्दै डीएसपी न्यौपानेले भने, ‘घटना कसरी र के कारणले भयो, घटना कसले घटायो प्रहरीले अनुन्धान सुरु गरिसकेको छ ।’
सोमबारसम्म ढोका नखुलेपछि सोही घरमा बस्नेले प्रहरीलाई खबर गरी खोल्दा दुई जना मृत भेटिएका हुन् । उनीहरूको शनिबार बेलुका नै हत्या भएको आशंका गरिएको छ । आचार्यका दुवै छोरा अध्ययनका लागि भक्तपुरमा बस्दै आएका थिए ।
Post Comment