१० जेष्ठ २०८२, शुक्रबार

३ वर्षमा ७३१ अन्तर्राष्ट्रिय उडान, ४५ हजार यात्रु

 

८ जेठ, बुटवल ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ देखि २०२४ सम्मको ३ वर्षमा ७३१ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन् । यो ३ वर्षमा ४५ हजार ५७३ यात्रुले विमानस्थल प्रयोग गरेका छन् । यो संख्यामध्ये सबैभन्दा धेरै पहिलो वर्ष सन् २०२२ मा ३०४ उडान र ३१ हजार ३५५ यात्रुले यात्रा गरेका छन् । सन् २०२३ मा १२८ उडान र ४ हजार ७५१ यात्रु रहेका छन् भने सन् २०२४ मा २९९ उडान र ९ हजार ४६७ ले यात्रा गरेका छन् ।

विमानस्थल प्रयोग गरेका यात्रुमध्ये सन् २०२२ मा भैरहवाबाट जाने १७ हजार ८९६ जना र आउने १३ हजार ४५९ जना छन् । सन् २०२३ मा भैरहवाबाट जाने २ हजार २९५ जना र आउने २ हजार ४५६ जना तथा सन् २०२४ मा भैरहवाबाट जाने ४ हजार १०३ जना र आउने ५ हजार ३४६ जना रहेको विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । यो ३ वर्ष अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको थिएन । तर सन् २०२५ को जनवरीदेखि मार्चसम्म ३ महिनामा मात्रै २९९ अन्तर्राष्ट्रिय उडान भएका थिए । यो अवधिमा काठमाडौंको त्रिभुवन विमानस्थल मर्मत भइरहेकाले उडान कटौती भएको थियो । त्यो बेला नेपाल एअरलाइन्स, जजिरा, फ्लाई दुबई र थाई एअर एसियाले अन्तर्राष्ट्रिय उडान गरेका थिए । ३ महिनामा मात्रै १५ हजार १४८ यात्रुले विमानस्थल प्रयोग गरेका छन् । विमानस्थलका प्रवक्ता विनोद राउतका अनुसार हाल दैनिक ५० अन्तर्राष्ट्रिय उडान क्षमता र वार्षिक ३० लाख बढी यात्रु प्रस्थान गर्नसक्ने क्षमता छ ।

विमानस्थलमा एकपटकमा ५ वटा न्यारोबडी वा एउटा वाइडबडी र ३ न्यारोबडी जहाज उडान र पार्किङ गर्नसक्ने क्षमता छ । क्षमताअनुसार विमानस्थल सञ्चालन हुँदा १५ दिनमा हुने उडान र यात्रु संख्या विमानस्थल नचल्दा ३ वर्षमा पनि हुन नसकेको हो ।विमानस्थलले वार्षिक ३० लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले त्रिभुवन विमानस्थलको विकल्पका रूपमा गौतमबुद्ध विमानस्थल बनेको हो । साथै बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्धमार्गीहरूलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य पनि थियो । वार्षिक करिब ३० लाख बौद्ध धर्मावलम्बीलाई लुम्बिनी भित्र्याउने लक्ष्यसहित विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाइएको हो ।

धार्मिक पर्यटनलाई बढावा दिने र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर विमानस्थल स्तरोन्नति भए पनि अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा विमानस्थल लक्षित गरी होटेल र पर्यटन व्यवसायमा निजी क्षेत्रले गरेको झण्डै एक खर्ब लगानी जोखिममा परेको छ । २०७१ माघ १ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए भने २०७९ जेठ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।  विमानस्थलको आईसीपी १ निर्माणमा ६ अर्ब ६३ करोड भुक्तानी भएको छ भने आईसीपी २ निर्माणमा ४५ लाख १५ हजार ६०९ अमेरिकी डलर र ७९ लाख ८ हजार रुपैयाँ गरी अहिलेको विनिमय दरअनुसार कूल ६३ करोड रुपैयाँ बढी भुक्तानी भएको नागरिक उडड्नयन प्राधिकरणले जनाएको छ । कूल लागतमध्ये एशियाली विकास बैंकको ऋण र अनुदान ३७ मिलियन अमेरिकी डलर, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ऋण करिब ११ मिलियन अमेरिकी डलर र २८.१ मिलियन अमेरिकी डलर नेपाल सरकारको लगानी भएको छ ।

उद्घाटन भएको ३ वर्ष पुगिसक्दा समेत अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन नसकेर आलोचित बनिरहेको बेला गौतमबुद्ध विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरणको विषय समेत विवादमा तानिएको छ । विमानस्थलका लागि झण्डै एक दशकअघि पटक-पटक गरेर ४ सय ५२ बिघा जग्गा अधिग्रहण गरी साढे २२ अर्ब ६८ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको थियो । अहिले विमानस्थलको कूल जग्गा ८०६ बिघा छ । जसमा पूर्व-पश्चिम दिशामा ३ किलोमिटर लम्बाइ र ६० मिटर चैडाइको धावनमार्गसहित इन्टरफेन्सभित्रको जगा ३१० बिघा छ । बाँकी आउटर फेन्स भित्र छ । नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप चाइनाले विमानस्थल बनाएको हो । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमिति सदस्यहरुले रनवे भन्दा दक्षिणतर्फ भारतको सीमाभन्दा डेढ किलोमिटर उत्तरसम्म खोला आसपासको ठूलाठूला भंगालो (खाल्डा) आसपासमा आवश्यकता नै नभएको कमसल जग्गा ठूलो परिमाणमा खरिद गरी अर्बौं रकम मुआब्जा बाँड्नुका पछाडि नीतिगत र आर्थिक भ्रष्टाचार लुकेको भन्दै थप छानबिन गर्नुपर्ने माग गरेका छन् ।

उद्घाटनको ३ वर्ष पुगे पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थललाई लक्षित गरी होटेल र पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट भएको करिब एक खर्ब रुपैयाँ लगानी संकटमा परेको व्यवसायीहरूको गुनासो छ । भैरहवाका व्यावसायिक संघ-संस्थाहरूले अन्तर्राष्ट्रिय उडान माग्दै बारम्बार आन्दोलन गरिरहेका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आवश्यक श्रम कार्यालय, मेडिकल जाँच, भिसा सेन्टर, वैदेशिक रोजगारीमा जानेहरूका लागि तालिम केन्द्र जस्ता सरकारी कार्यालय र म्यानपावर कम्पनीका कार्यालयहरू भैरहवामा स्थापना गर्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय भए पनि कार्यान्वयन नहुँदा एअरलाइन्सहरूलाई यात्रु अभाव भएको बहाना देखाई उडान कटौती गरेकाले ती कार्यालय यथाशीघ्र सञ्चालन हुनुपर्ने बताउँछन् ।

महाप्रबन्धक तिवारीले सरकारी स्वामित्वका नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सले आफ्नो प्रतिस्पर्धी क्षमता बढाउन जहाज थप्नुपर्ने र केही जहाज गौतमबुद्ध विमानस्थललाई डेडिकेटेड गर्न आवश्यक रहेको औंल्याए । पर्यटन व्यवसायीहरूले सरकार काठमाडौं केन्द्रित ठूला व्यवसायीको प्रभाव र दबाबमा परेर मन्त्रिपरिषद्‌बाट निर्णय गरेर पनि अत्यावश्यक कार्यालय भैरहवामा स्थापना नगरेको, हवाई टिकट बिक्रीमा एअरलाइन्सहरूले काठमाडौं केन्द्रित ट्राभल व्यवसायीको सिन्डिकेट कायम राखेको, बौद्धमार्गी मुलुकबाट भैरहवामा सिधा उडानका लागि सरकारले ठोस पहल नगरेको जस्ता कारणले विमानस्थल नचेलेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment