सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने
१ पुस, काठमाडौं ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो । यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् ।
लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो । चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।
लिगको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले १५.२ ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउदा इशान पाण्डेले अविजित रहँदै ३८ रन नै बनाए ।
Post Comment