सीआईबीमा दुर्गा प्रसाईंको बयान सकियो
२५ मंसिर, काठमाडौं । साइबर अपराधमा पक्राउ परेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएर सकेको छ । भारतीय गुण्डा लरेन्स बिस्नोईको नाममा नेपाली व्यापारीहरूलाई धम्क्याएको कसुरमा समेत उनीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीका अनुसार, जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा लगेर उनको प्रारम्भिक चरणको बयान लिइएको हो । प्रसाईंले बयानका क्रममा बिस्नोईसँग आफ्नो सम्बन्ध नरहेको बताएका छन् । तर बिस्नोईसँग सम्बन्ध छ भनेर नेपाली व्यापारीलाई धम्क्याउने झापा मेचीनगरका हरिचन्द्र फुयाँलसँग भने उनको फोन सम्पर्कभएको देखिएको छ । सीआईबी स्रोतका अनुसार फुयाँल र प्रसाईंबीच लगातार ५ दिन कुराकानी भएको देखिएको छ । सीआईबीले उक्त कलको रेकर्ड परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको छ । त्यस्तै प्रसाईंले फुयाँललाई ५ लाख रुपैयाँको भौचरसमेत ह्वाट्सएप गरेको भेटिएको प्रहरीले बताएको छ ।
सन् २०१८ मा बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिएर चर्चामा आएका भारतीय गुण्डा लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारी र व्यवसायीलाई धम्क्याउने कसुरमा प्रसाईंको संग्लनता देखिएपछि सीआईबीले उनीमाथि अनुसन्धान थालेको हो । सीआईबीले यही कसुरमा १४ मंसिरमा झापा मेचीनगरका हरिचन्द्र फुयाँललाई पक्राउ गरिसकेको छ । सीआईबीका अनुसार बयानका क्रममा हरिचन्द्रले आफूलाई व्यापारीले धम्क्याएर रकम असुल्न प्रसाईंले लगाएको मात्रै बताएका छैनन्, प्रहरीले उनको फोनमा यी दुईबीचको कुराकानीको अडियो र कागजपत्र साटासाट गरेको प्रमाण पनि दिएका छन् ।
सीआईबी स्रोतका अनुसार प्रसाईंको मोबाइलमा भेटिएको अडियो रेकर्डले उनको संलग्नताको पुष्टि गर्छ । सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले अहिलेसम्म तीन चार जना व्यवसायीले लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको भन्दै उजुरी दिइसकेको र यस्तो धम्की खेप्ने अरू व्यापारी व्यवसायी भएको सूचना पनि आफूहरूले संकलन गरिरहेको बताए । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद भनाइसँगै फर्जी कागजातहरू सार्वजनिक गरेलगत्तै मंसिर ४ मा उनी भक्तपुरस्थित घरबाटै पक्राउ परेका थिए । सुरुमा उनीमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान थालेको थियो । यो विषयमा अनुसन्धान सकिएलगत्तै उनीमाथि सीआईबीले अनुसन्धान थालेको हो ।
Post Comment