सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो ।पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएको कोषले जनाएको हो ।
कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१–८२ को भदौ–असोज तेस्रो सातासम्म कोषको खातामा योगदान रकमबापत ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको हो । गत आर्थिक वर्ष २०८०–८१ असार तेस्रो सातासम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो ।
समीक्षा अवधिमा १६ लाख ८१ हजार एक सय ९२ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिए । २०७५ मंसिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको उनको भनाइ छ ।
औपचारिक र अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको दाबी गरिएको छ । त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ ।
Post Comment