सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो : डा. भट्टराई
१९ वैशाख, काठमाडौं ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले नीति तथा कार्यक्रममा गुणात्मक परिवर्तनको मौका गुमाएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै डा. भट्टराईले यस वर्ष पनि निरन्तरतामै आएको बताए । गुणात्मक महत्वको परिवर्तनका कुराहरू आउँछन् कि भन्ने मेरो अपेक्षा थियो । तर, मैले त्यस्तो पाइनँ,’ संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तरतामै यो आयो । अहिलेको निम्ति त्यति पर्याप्त छैन । फेरि बजेटमा कस्तो व्यवस्था भएर आउँछ भन्ने हेर्न बाँकी छ ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले जेनजी र स्टार्ट अपको विषय आए पनि बजेटमा त्यसलाई कसरी सम्बोधन गरिनेछ भनेर हेर्न बाँकी रहेको बताए । उनले नेपाल अहिले पनि कृषिप्रधान अर्थतन्त्र भएकाले वैज्ञानिक भूमिसुधार गर्ने नीतिगत व्यवस्था गरेर आशा जगाउन पनि सरकार चुकेको बताए । ‘नेपाल अहिले पनि कृषिप्रधान अर्थतन्त्र हो । वैज्ञानिक भूमिसुधार हाम्रो संविधानमै उल्लेख छ । त्यसैले दशवटा कुरा गर्नुभन्दा वैज्ञानिक भूमिसुधार गर्नेछौं भनेको भए त्यसले आशा जगाउँथ्यो,’ उनले भने । भट्टराईले दुई अंकको आर्थिक वृद्धिदर हासिल हुने गरी नीति बनाउने अवसर पनि गुमेको बताए । ‘आर्थिक विकासको पनि क्रमिक विकास मात्र भएको छ । अहिलेसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल हुन सकेको छैन । त्यसैले दुई अंकको आर्थिक वृद्धिदर हुने गरी नीति बनाउँछौँ भनेको भए अर्थतन्त्रको रुपान्तरणको अर्थ लाग्थ्यो,’ उनले थपे, ‘सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्ने बलियो अंग बनाउँछौं र यसलाई सुधार गर्छौं भन्न सकिन्थ्यो । त्यो पनि चुकेको छ ।’
Post Comment