भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
८ जेठ, काठमाडौं ।
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने सेटिङ गरेको आरोपी नै यतिबेला गृहमन्त्री रमेश लेखकको सचिवालयमा छन् ।तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हुने भिजिट भिसा सेटिङमा अप्रेसन चलाउँदा त्यसमा संलग्न देखिएका अधिकृत नै अहिले गृहमन्त्रीको सचिवालयमा रहेका छन् ।
नेपाल प्रहरीले चलाएको सो अप्रेसनमा तत्कालीन शाखा अधिकृत नरवीर खड्कासहित गिरोहका सदस्यहरू पक्राउ परेका थिए । तत्कालीन अध्यागमन अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विकाश डङ्गोल, पिताम्बर रिमाल र सुजन फागोविरुद्ध मुद्दा चलेको थियो । त्यसमध्येका एक विमल पौडेल अहिले मन्त्रीको सचिवालयका हर्ताकर्ता हुन । उनकै योजना र सल्लाहमा अर्का अधिकृत गणेशदत्त ओझाले तय गरेका कर्मचारीहरू अध्यागमन कार्यालयमा जाने गरेका छन् । ‘ भिजिट भिसाको सेटिङ काम गरिरहेका अधिकृत नै मन्त्रीको सचिवालयमै छन्, उनले नै अध्यागमनमा कर्मचारीको खटन पटन गर्छन् त्यसको परिणाम अहिले भोगिरहेका छन्’, गृह मन्त्रालयका एक उच्च अधिकारीले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेर कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईसँग बयान लिइहरेको छ । विवादित पृष्ठभूमिका सहसचिव भट्टराईलाई गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाएर पठाएका थिए । भूकम्पको बेला त्रिपाल काण्डमा समेत मुछिएका र रवि लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रको विवादित ठेक्कामा परेका भट्टराईलाई मन्त्री लेखकले अध्यागमन कार्यालयको प्रमुख बनाएर पठाएका हुन् । तत्कालीन सचिव दिनेश भट्टराईले मोरङको प्रमुख जिल्ला अधिकारीबाट हटाइएको थियो । अख्तियार स्रोतका अनुसार दीपक पाण्डे, लक्ष्मी भुषाल, दुर्गा थापा, सरोज खनाल, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, यज्ञराज अर्याल, भिष्मराज अर्याल, प्रभा अर्याललगायतका कर्मचारी उच्च निगरानीमा रहेका छन् । यीमध्ये धेरै जसो दोहोर्याएर अध्यागमन पुगेका थिए ।
अहिले मन्त्री लेखकको सचिवालयमा कार्यरत रहेका अधिकृत पौडेललाई प्रहरीले लिखत किर्ते तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । उनी सुटुक्क अदालतमा हाजिर भएर धरौटीमा छुटेका थिए । बिचौलियाहरू अरुण दाहाल, सरोज कुमार यादव, गिता शाह र गणेश पाण्डेलाई कसुरदार ठहर गरिएको थियो । गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमनमा कसलाई पठाउने भनेर उनै पौडेल र गणेश ओझाले गर्छन् । उनलाई खुसी नपारी कोही पनि अध्यागमन जान नपाउने गृह मन्त्रालय स्रोत जनाएको छ । म्यानपावर कम्पनीहरूसँग भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनका कर्मचारीले ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म लिने गरेको स्रोतको दाबी छ । यसरी सेटिङमा दैनिक औसतमा सय जनालाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिने गरेको छ ।
जसअनुसार दिनमै ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयको नेतृत्वकर्ता मन्त्री पुग्ने गरेको उजुरी अख्तियारमा परेको थियो । भिजिट भिसामा विदेश जानेसँग सङ्गठित रूपमै असुली बढेको सूचनाका आधारमा अख्तियारले ‘अन्डर कभर अपरेसन’ चलाएर सेटिङको प्रमाण संकलन गरेको थियो । सोही आधारमा बुधबार छापा हानेर अध्यागमन प्रमुख भट्टराईलगायतलाई नियन्त्रणमा लिइएको थियो। भट्टराईले चलाउने कम्प्युटर, कर्मचारी र तीन एजेन्टका मोबाइलसमेत जफत गरेको छ । अख्तियारले छापा हान्ने तयारी गरेको थाह पाएपछि मंगलबार साँझ मात्रै गृहमन्त्री लेखककै निर्देशनमा भट्टराईलाई अध्यागमनबाट सरुवा गरेर मन्त्रालयमा ल्याइएको थियो । उनको स्थानमा ताप्लेजुङका प्रजिअलाई सरुवा गरिएको थियो ।

Post Comment