८ पुष २०८१, सोमबार

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,

 

२ पुस, काठमाडौं । प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान साढे ७ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो ।

भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो । यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ । भूकम्प र परकम्पका कारण घरहरु भत्किएका, बिजुलीका पोल ढलेका, गाडीहरुमा क्षति पुगेको भिडियोहरु सार्वजनिक भइरहेका छन् । बेलायत, फ्रान्स र न्यूजील्याण्डका दूतावासहरु रहेको एउटा ठूलो भवन पनि भत्किएको देखिन्छ । भूकम्प लगत्तै सरकारी वेबसाइटहरु पनि डाउन भएका थिए । पोर्टभिलामा रहेका एक पत्रकार डेन म्याकगेरीले बीबीसीसँग भनेका छन्,

‘धेरै मानिसहरु भुईंमा लडिरहेका र उनीहरु गम्भीर घाइते अवस्थामा रहेको देखेको छु ।’ घाइतेहरुलाई उद्धार गर्दै अस्पताल लैजाने काम जारी छ । अस्पतालको आकस्मिक कक्ष बाहिर थुप्रै घाइते र तिनका आफन्तहरुको भिड देखिन्छ । केही घाइतेहरुको मृत्यु समेत भएका समाचार सार्वजनिक भइरहेका छन् । तर मृतकको संख्या यो समाचार तयार पार्दासम्म सार्वजनिक भइसकेको छैन । उद्धारकर्मी र स्वास्थ्यकर्मीहरु घाइतेहरुको उपचारमा व्यस्त देखिन्छन् ।

भानुआटु जंगल एडभेन्चर कम्पनीका डाइरेक्टर माइकल थम्प्सनले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘सडकमा थुप्रै मानिसहरु लडिरहेको देखेको थिएँ । धेरै घरहरु भत्किएका छन् । भग्नावशेषमा कसैलाई जिवितै उद्धार गर्न सकिन्छ कि भनेर ठूलो उद्धार अभियान चलिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment